झापा ।
नेकपा एमालेको हल्दिबारी गाउँकमिटीका जनबर्गिय संघ/संगठनले फरक आस्था र बिचार भएको राजनीतिक दलसँग चुनाबी तालमेल गरेको भन्दै सामुहिक राजिनामा दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल हल्दिबारी गाउँ कमिटीका अध्यक्ष अनिल मेचे, सचिब मनोज सुवेदी र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटीका अध्यक्ष बिजय राई र सचिव अभिषेक खतिवडाले हिजो (सोमवार) संयुक्त बिज्ञप्ती जारी गर्दै राजिनामा दिएका हुन् ।
उनीहरुले संयुक्त जारी गरेको बिज्ञप्तीमा भनिएको छ ‘ युवा संघ नेपाल र अनेरास्ववियुको बिभिन्न जिम्मेवारी , सवै तहमा अग्रसर भएर संघर्ष गरिरहेको वेला पार्टीले फरक राजनीतिक, आस्था र बिचार राख्ने पार्टी राप्रपासँग प्रतिनिधिसभा निर्वाचनमा तालमेल स्वीकार्य नभएकाले पार्टी नेतृत्वहरुको केही हर्कतका कारण मंसिर ४ गते हुने प्रतिनिधिसभामा राप्रपाको लागि भोट माग्न र पार्टीले तय गरेको कार्यक्रममा सहभागी हनु नसक्ने जानकारी गराउँदछौं ।’
उनीहरुले फरक राजनीतिक अस्था र बिचार भएको पार्टीलाई भोट माग्न नसक्ने भन्दै सामुहिक राजिनामा दिएका हुन् । उनीहरुले राजिनामा दिनु र नेकपा एमाले परित्याग गरेर स्वतन्त्र डम्बरबहादुर गिरीले उम्मेद्वारी दिनुले राप्रपासँगको चुनावी तालमेल बालुवामा पानी सरह देखिएको छ । गिरीको उम्मेद्वारी र जनबर्गिाय संघ/संगठनले सामुहिक राजिनामाले गिरीलाई फाइदा हुने स्पष्ट देखिन्छ ।