झापा । 

नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले अघिल्लो निर्वाचनमा आफू पराजित हुँदा यस क्षेत्रमा विकास निर्माण लगायताको काम हुन नसकेको बताएका छन् । 

झापा ३ को भद्रपुरमा शनिबार(आज) आयोजित सत्ता गठबन्धन निकट बुद्धिजीवीको भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा हात्तीको भारी बोकालाई बोकाउन खोज्दा विकास निर्माणको काममा विलम्ब भएको दाबी गरेका छन् ।

नेता सिटौलाले आफूले दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएपछि सुरु गरेर सम्पन्न भएका दर्जन बढी आयोजना देखाएर मतदाता झुक्क्याउने काम राप्रपा उम्मेदवारले गरेको टिप्पणी गरे । राप्रपा उम्मेदवारले विजयी भएर ५ वर्षे अवधिमा झापा ३ मा विकासका लागि  सिन्को नभाँचेको उनलेआरोप लगाएका छन् । 

पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले झापा ३ मा  आफ्नो  प्रतिस्पर्धामा एमाले  नभएकोले  एमाले नेतृत्वले राजतन्त्रवादीलाई सहयोग गर्न नहुने बताए। नेता सिटौलाले  पार्टीको आदर्श र सिद्धान्त नमिल्ने राप्रपालाई एमाले कार्यकर्ताले बोक्न नहुने बताए ।  

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार भूमिप्रसाद राजवंशी तथा पूर्णप्रसादसिंह राजवंशीले विगतमा एक पटक राजावादीलाई मत हाल्ने काम व्यवस्था विरोधी काम भए पनि यस पटक झापा ३ का मतदाताले सङ्घीयतासहित गणतन्त्रको रक्षाका लागि गठबन्धनको पक्षमा मत हाल्नु पर्ने बताए ।