झापा । 

झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेलले आफुले सबैभन्दा पहिला बाहुनडाँगीको अलपत्र राइसिंह पुल निर्माण गरेर बाहुनडाँगीबासीलाई विकासे युगको अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । मेचीनगर वडा नं. २ र ४ लाई जोड्ने यो पुल शिलान्यास भएको करीव दुई दशक भइसकेको छ । तर, अहिलेसम्म अधुरै छ ।

विकासप्रेमी र इमान्दार नेताको छवि बनाएका नेकपा एमाले स्थायी कमिटीका सदस्य खरेल आज चुनावी भेलाको क्रममा बाहुनडाँगी पुगेका थिए । स्थानीयबासीका अनुसार कांग्रेसबाट निर्वाचित तत्कालीन सांसद् एवम् मन्त्री नरेन्द्रविक्रम नेम्वाङले करीव डेढ दशक अघि उक्त पुलको पहिलोपटक शिलान्यास गरेका थिए । शिलान्यास भयो, काम चाहिँ अघि बढेन ।

त्यसपछि पालैपालो माओबादीबाट धर्म घिमिरे र एमालेबाट रबिन कोइराला संविधानसभा सदस्य निर्वाचित भए । संविधान लेखन र शान्ति प्रक्रियामा ध्यान दिनु परेकाले त्यसबेला पुलको कामले प्राथमिकता नपाएको उनीहरुको भनाई थियो । अर्को निर्वाचनमा नेकपा माओबादीबाट राम कार्की पार्थ सांसद् निर्वाचित भए । उनको पालामा राइसिंश पुलको दोस्रो शिलान्यास भएको स्थानीयले दावी गरेका छन् । दुबै शिलान्यासपछि केही फलामे छड र सिमेन्टका भुइँ पिलर गाँडिए पनि काम बढेन ।

अहिले खोलाको पारि र वारि कालोपत्रे सडक छ । तर खोलामा मोटरसाइलक तार्न गाह्रो छ । विद्यार्थीलाई स्कुल कलेज जान कठिनाई भइरहेको स्थानीयबासीले एमाले उम्मेद्वारसमक्ष दुखेसो सुनाए । खरेलले सबैभन्दा पहिला यही राईसिंह खोलामा पुल बनाएर बाहुनडाँगीबासीलाई विकासको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरे ।

उनले बाहुनडाँगीमा हात्तीको कारण उत्पन्न समस्याको समाधानको नेतृत्व अब आफले लिने र वडा नं. २ र ३ जोड्ने निन्दा खोलामा पक्की पुल बनाउने समेत बताए । पार्टीका वडा अध्यक्ष चन्द्रलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश क मा एमालेका उम्मेद्वार एवम् संविधानसभा सदस्य रबिन कोइराला, चुनाव प्रचार प्रसार समितिका संयोजक विष्णु प्रसाई र निवत्र्तमान प्रदेश सांसद् श्रीप्रसाद मैनालीले मन्तब्य ब्यक्त गरेका थिए ।