बिर्तामोड ।
नेकपा एमालेका नेता एकराज कार्कीले मंसीर ४ गतेपछि नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् । झापा क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभाका उम्मेदवार कार्कीले नेकपा एमालेको पक्षमा देशभर जनलहर रहेकोले अब सबै प्रदेश र संघमा नेकपा एमालेकोे सरकार बन्ने बताए ।
मुलुकका कुनै पनि तागत र शक्तिले यसलाई रोक्न नसक्ने भन्दै उनले विकास, समृद्धि र सुशासनको लागि नेकपा एमालेलाई भोट हाल्न जरुरी रहेको बताएका छन् ।
एमाले नेता कार्कीले स्वतन्त्रको कुनै अर्थ नरहेको बताए । संसदिय निर्वाचनमा बहुमतको सरकार बन्ने र अल्पमत प्रतिपक्षमा रहने भएकाले एक, दुइ वटा मान्छेको अर्थ नरहने बताए । हजारौँ मान्छेहरुको बलिदानबाट आएको लोकतन्त्रमाथि धावा बोल्दै स्वतन्त्रका नाममा केहि व्यक्तिहरु आएकोले यसको अर्थ नरहने र यो पानीको फोका जस्तै रहेको बताएका छन् ।
नेता कार्कीले विचार र राष्ट्रियताका बारेमा सहमत नभएका पार्टीहरु एक आपसमा जोडिएर बनेको सत्ता गठबन्धनको पनि औचित्य नरहेको टिप्पणी गरे । नेकपा एमाले राष्ट्रवादी शक्ति रहेको र राष्ट्रियताको सवालमा कोहिसँग नझुकेको उनको भनाई थियो ।
नेता कार्की चुनावी अभियानका क्रममा कार्यकर्ता तथा मतदाताहरुसँगको भेटघाटमा व्यस्तरहेका छन् । कार्कीसंग सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल चुनावी मैदानमा रहेका छन् । बिर्तामोड निवासी नेता कार्की गएको प्रदेश सभाको निर्वाचनमा पनि भारी मतले निर्वाचित भएका थिए ।