बिर्तामोड ।
झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले भारतले हडपेको नेपाली भूमि दावी गर्दै केपी ओली सरकारले नक्सा सार्वजनिक गरेकोमा उनकै नेतृत्वमा अब बन्ने सरकारले जमिन नै फिर्ता ल्याउने बताएका छन् ।
नेकपा एमालेका प्रदेश १ का इन्चार्ज समेत रहेका घिमिरेले आर्थिक नाका बन्दीदेखि धाक धम्की र राजनीतिक दवाव दिएर नेपालको राजनीतिलाई भारत अनुकूल बनाउने कामको पनि अब अन्त्य गराउने बेला आएको बताएका छन् ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन तथा प्रचारको काम व्यवस्थित गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडास्तरमा आयोजना गरिरहेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले नेपाललाई कमजोर र खोक्रो बनाउने विभिन्न मुलुकका षड्यन्त्रलाई फाल्न एमालेको बहुमतको सरकार चाहिएको जिकिर गरे ।
आज बिर्तामोड नगरपालिका वडा नं. ३ र वडा नं. ४ का छुट्टाछुट्टै स्थानमा भएका संयुक्त भेलालाई सम्बोधन गर्दै एमाले नेता घिमिरेले यस्तो बताए। उक्त कार्यक्रमहरुमा क्षेत्र नं २ प्रदेशसभा (क) उम्मेदवार उम्मेदवार एकराज कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा स्वतन्त्र उम्मेदवारको कुनै औचित्य नहुने जिकिर गरे ।