झापा ।
आगामी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीको निर्णय बिरुद्ध स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेका एमाले जिल्ला तहका नेता कार्यकर्तालाई पार्टीले कारवाही शुरु गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी झापाले विहीबार विज्ञप्ती जारी गदैं पार्टी विरोधी गतिविधि गर्ने पार्टी निर्णयको पक्षमा दृढताका साथ नउभिई पार्टीले अघि सारेका र समर्थन गरेका उम्मेदवारहरुलाई जिताउनको सट्टा स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेकालाई कारवाही शुरु गरेको जनाएको छ ।
जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीको हस्ताक्षरसहित जारी विज्ञप्तीमा मंसिर ४ को निर्वाचनमा केही निर्वाचन क्षेत्रहरुमा पार्टी निर्णयको बर्खीलाप हुने गरी स्वतन्त्र उम्मेदवार दिने तथा अन्य पार्टीको चुनाव चिन्हमा उम्मेदवार बन्ने सम्मका पार्टी विरोधी गतिविधि भएको उल्लेख छ । पार्टीले जिल्ला कमिटी सचिवालय सदस्यदेखि पूर्व नगरप्रमुखसम्मलाई कारवाही गदैं पार्टीको सवै जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको विज्ञप्तीमा जनाइएको छ ।
नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य एवम् हल्दीबारी गाउँपालकिाका पूर्व उपाध्यक्ष डम्बरबहादुर गिरीलाई पार्टी अनुशासन उल्लंघन गरेकोले पार्टीको सबै जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ । गिरीले पार्टीको निर्णय विरुद्ध झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि कारवाही स्वरुप निस्काशन गरेको अध्यक्ष कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
पार्टी विरोधी गतिविधि गर्ने अर्जुनधाराका पुर्व नगरप्रमुख हरिकुमार राना र शिवसताक्षीका होमप्रसाद गौतमलाई यसअघि नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्काशन गरिएको विज्ञप्तीमा भनिएको छ ।
एमालेले स्थानीय आवश्यकतालाई मध्यनजर गदैं झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । चुनावी तालमेलमा राप्रपाको हलो चुनाव चिन्हमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बन्नु भएका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ९ख० बाट सविना कट्टेल बजगाई र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट भक्तिप्रसाद सिटौला उम्मेदवार बनेका छन् । झापाको अन्य निर्वाचन क्षेत्रमा एमालेका सूर्य ध्वजावाहक उम्मेदवार भएको विज्ञप्तीमा उल्लेख छ ।
राप्रपाको हलो र एमालेका सूर्य चुनाव चिन्हका उम्मेदवारहरुलाई मतदान गर्न एमाले पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरुमा विज्ञप्तीमा अनुरोध गरिएको छ । पार्टीको निर्णयको विरुद्घ प्रत्यक्ष परोक्ष गतविधिमा संलग्न जो कोही नेता कार्यकर्ताहरुको पहिचान गरी तत्काल कारवाही गरिने विज्ञप्तीमा उल्लेख छ ।