विर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव राम कार्की (पार्थ) ले नेकपा एमालेले नक्कली राष्ट्रवाद जनतासामु बेचिरहेको बताएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन मूल समिति २ नं क्षेत्रीय समितिको आयोजनामा विर्तामोडमा सम्पन्न उम्मेद्वार परिचयात्मक कार्यक्रम एवं कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कार्कीले एमालेको नक्कली राष्ट्रवादमा गरिबी, सुकुम्बासी, निमुखा जनताको समस्या सम्बोधन नहुने दावी गरेका छन् ।
‘भोकमरी, अपहेलना, हिंसाबाट मुक्ति, गरिबीको अन्त्य र स्वतन्त्रताको संरक्षण नै प्रजातन्त्र हो’ कार्कीले विचार नमिल्ने दलहरुबीच भएको गठबन्धनको पृष्ठभूमी औल्याउँदै भने ‘जनआन्दोलनबाट प्राप्त उपलब्धी र संविधानलाई समाप्त पार्ने षडयन्त्र एमालेबाट भएपछि पार्टी एकता तोड्दै नेपाली कांग्रेससहितका राजनीतिक मुद्दा मिल्ने दलहरुबीच गठबन्धन भएको हो ।’
यी उपलब्धीहरुको रक्षा र प्रजातन्त्र फैलाउँदै गणतन्त्रको उपलब्धी घर–घरसम्म पु¥याउने मुख्य दायित्व पूरा गर्न निर्वाचनमार्फत गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन कार्कीले जनतासमक्ष आग्रह गरे ।
नेपाली राजनीतिमा सिके प्रसाईको राजनीतिक आदर्शको समेत चर्चा गर्दै कार्कीले भने ‘२ सय बढी विगाह जग्गा र सम्पूर्ण सम्पत्तिको मोह नराखी सिके प्रसाईले प्रजातान्त्रिक समाजवादी विचारका प्रवर्तक वीपी कोइरालालाई सघाउनुभयो । अत्यन्तै सामान्य जीवनशैलीमा रमाउने सिकेको आदर्शलाई पछ्याउन अहिलेका राजनीतिकर्मीहरु असफल छन् ।’ राजनीतिक दलका नेता कार्यकर्तामा विलाशी जीवनशैली र उच्च महत्वाकांक्षा देखिन थालेको उनको टिप्पणी थियो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले बहुमत प्राप्त गरेर पनि देशमा पाँचबर्ष शासन चलाउन नसक्ने र अस्थिरतालाई प्रश्रय दिनेका विरुद्ध गठबन्धन भएको बताउँदै अस्थिरताको अन्त्य जनमतमार्फत नै गर्न जनतालाई आग्रह गरिन् ।
झापा क्षेत्र नं–२ का प्रत्यासी उम्मेद्वार हरिकुमार रानाले राजनीतिक ब्यवस्था र विधि परिवर्तनका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै गरिबी, अभाव, महंगी नियन्त्रण, लोपोन्मुख एवं अल्पसंख्यक वर्गको संरक्षण, संस्कार र संस्कृतिको संवद्र्धनलाई प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिबद्धता जनाए। जनमतको सम्मान गर्दै यस क्षेत्रका जनताको शिर निहुरिने कुनै काम नगर्ने प्रतिबद्धता मन्तब्य राख्दै रानाले गठबन्धनका उम्मेद्वारलाई प्रतिनिधिसभा, प्रदेशसभा र जिल्ला एवं देशभर जिताउन अपिल गरे ।
कार्यक्रममा झापा क्षेत्र नं–२ प्रदेश क का उम्मेद्वार पुष्प पोखरेल, झापा क्षेत्र नं–२ प्रदेश ख का उम्मेद्वार खगेन्द्र मैनालीले पनि आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । निर्वाचन परिचालन मूल समितिका संयोजक सुधिरकुमार शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादीका पोलिटब्युरो सदस्य धर्मशिला चापागाई, नेकपा एसका पोलिटब्युरो सदस्य भाष्कर काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए।
निर्वाचन परिचालन मूल समितिका सहसंयोजक कृष्ण हुमागाईले स्वागत गरेको कार्यक्रममा तीर्थ सिग्देलले प्रचार–प्रचारको कार्यतालिका प्रस्तुत गरेका थिए भने सञ्चालन सचिव सिपि कडरियाले गरेका थिए। निर्वाचन परिचालन मूल समितिले वडा एवं टोल स्तरमा निर्वाचन प्रचार–प्रसारको कार्यकतालिका तय गरेको छ ।