अर्जुनधारा ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले केपीओलीकोे प्रतिगामी कदमबाट मुलुक र संविधानलाई बचाउन गठबन्धन गर्नुपरेको बताउँदै कार्यकर्ताहरुलाई गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन सक्रियतापूर्वक खट्न आग्रह गरेकी छिन् ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको विस्तारित भेलालाई सम्बोधन गर्दै पूर्वराज्य मन्त्री समेत रहेकी प्रसाईले गठबन्धन दलका उम्मेद्वारको विजयले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्ने बताइन् ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमगाईं, नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका सभापति हेमराज खरेल, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिका संयोजक सुधिरकुमार शिवाकोटीले गठबन्धन दल र उम्मेद्वारका विरुद्ध प्रतिगामी तत्व र विपक्षीहरुले फैलाएको भ्रमलाई चिरेर एकताबद्ध रुपमा साझा उम्मेद्वारहरुलाई विजयी गराउन सफल भएमात्र मुलुकलाई निरंकुश तानाशाहीको पञ्जाबाट मुक्त गराउन सकिने धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव इन्दिबर खड्काले गरेकी थिइन् ।
त्यस्तै नेपाली कांग्रेस विर्तामोड नगर समिति र झापा क्षेत्र नं–२ प्रदेश क को संयुक्त विस्तारित बैठक सम्पन्न भएको छ । भेलामा नेपाली कांग्रेस १ नं प्रदेश समिति सदस्य मिरा खड्का, कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, प्रदेश क का सभापति लक्ष्मी आचार्य लगायतले आ–आफ्नो भनाई राखेका थिए । भेलामा सहभागीहरुले जिज्ञाशा समेत राखेका थिए ।
विर्तामोड नगर समितिका कार्यबाहक सभापति सूर्य कन्दङ्वाको सभापतित्वमा सम्पन्न भेलाको सञ्चालन राजकुमार राजवंशीले गरेका थिए ।