बिर्तामोड ।
झापाको बिर्तामोडका सन्तोष घिमिरे झापा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उमेद्वारी मनोनयन दर्ता गराएर चुनावी प्रचारप्रसारमा जुटेका छन् । अध्ययनशील क्षमताका धनी घिमिरे बौद्धिक प्रतिभा पनि हुन् । राजनीतिमा सुधारको खाँचो भएको बताउने घिमिरे देश बनाउने एजेण्डा जनस्तरबाट अनुमोदन गराउने चाहना लिएर निर्वाचनमा जोडिन पुगेको छन् । प्रत्येक दिन उनका समर्थक थपिँदै गएका छन् ।
गाउँ टोलमा उनले आफ्ना एजेण्डा जनतालाई सुनाउँछन् । असल राजनीति र संस्कारसँग जोडिएका मात्र होइन, आर्थिक विकास र समृद्धिका अनेक खाका घिमिरेसँग छन् । ढाँटेर र छलेर भोटको राजनीति गर्ने नेताहरुको परम्परागत प्रवृत्तिको पृष्ठभूमिबाट असल अभ्यासको खोजी गर्ने बैकल्पिक पात्रका रुपमा घिमिरेले आफूलाई जनताका अगाडि उभ्याएका हुन् ।
‘गुरु राष्ट्र नेपाल’ उनको एउटा महत्वपूर्ण एजेण्डा हो । जसमा सांस्कृतिक अर्थतन्त्र जोडिएको छ । साँस्कृतिक पर्यटन पनि नेपालको विकासका लागि गतिलो एउटा आधार हुनसक्छ भन्नेमा घिमिरे दृढ छन् । विश्व शान्तिको नेतृत्व नेपालले गर्न सक्छ भन्ने खाका पनि घिमिरेसँग छ । यसमा सांस्कृतिक पुनर्उत्थानको विषयलाई पनि घिमिरेले देश विकाससँग जोड्न चाहेका छन् । दीगो अर्थतन्त्र राष्ट्रियताको बलियो आधार हो भन्ने मान्यता घिमिरेको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनले आफूलाई उमेद्वारका रुपमा उभ्याएका हुन् । नवीन सोचको परिकल्पना तथा प्रयोग गर्न रुचाउने घिमिरेको स्वभाव छ । जसका कारण प्राकृतिक रुपमै घिमिरेलाई राजनीतिक रुपान्तरणको हुट–हुटी चलेको हो । विकृत बन्दै गएको राजनीतिमा सुधारको खाँचो देख्छन् उनी ।
घिमिरे विकल्प कुर्दै बस्ने होइन, विकल्प आफैँ बन्नुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएका छन् । मनबाट मन बदलियो भने मात्रै देश बन्छ । त्यसैले सोच, शैली र संस्कार बदल्न चाहन्छन् उनी । अङ्ग प्रत्यङ्गबाट जसरी शरीर बन्छ, त्यसरी नै देश बनाउने महाअभियानमा उनका अनेक अङ्ग र प्रत्यङ्ग छन् । तिनैलाई मिहीन ढंगबाट जोड्न सकियो भने देश देशजस्तो लाग्छ ।