झापा ।
झापाका पाँच वटै निर्वाचन क्षेत्रमा नेकपा एमाले, गठबन्धन, स्वतन्त्र, र अन्य दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेद्वारी मनोनयन दर्ता गरिसकेका छन् ।
झापा क्षेत्र नम्बर ३ मा नेकपा एमाले परित्याग घोषणा गरेका विकासप्रेमी युवा नेताका रुपमा परिचित डम्बर गिरीले प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । त्यस्तै झापा क्षेत्र नम्बर ५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।
३ नम्बरमा पटक–पटक सांसद तथा मन्त्रीसमेत बनेका कृष्णप्रसाद सिटौला र निबर्तमान सांसद राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गराएका छन् । सिटौलाले माओबादी, नेकपा एससहितका गठबन्धनबाट उम्मेद्वारी दिएका हुन् भने लिङ्देनले नेकपा एमाले र राप्रपाको चुनावी तालमेलबाट उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । नेता सिटौला र लिङ्देनले खासै विकासको कार्य नगरेकै कारण यस पटक युवा तथा विकासप्रेमी नेताका रुपमा परिचित डम्बरबहादुर गिरीले गोल लगाउने स्थानीयहरुको भनाई पाइन्छ ।
झापा क्षेत्र नम्बर ५ मा पनि केपीसँग प्रतिस्पर्धा गर्न सक्ने अन्य उम्मेद्वार नदेखिएकोले ५ नम्बरमा केपीको ग्राउण्ड खाली र ३ नम्बरमा गिरीले गोल लगाउने अवस्था देखिएको स्थानीय बताउँछन् ।
झापा क्षेत्र नम्बरमा ३ मा गठबन्धनबाट उम्मेद्वार बनेका सिटौला र एमाले र राप्रपाको चुनावी तालमेलबाट उम्मेद्वार बनेका लिङ्देनलाई युवा नेता गिरी फलामको चिउरा झै देखिएको नाम नखुलाउने सर्तमा एक स्थानीयले बताए ।
त्यस्तै झापा क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट विश्वप्रकाश शर्मा र नेकपा एमालेका तर्फबाट अग्नि खरेलले मनोनयन दर्ता गराएका छन् । झापा क्षेत्र नम्बर २ मा एमाले परित्याग गरेका हरिकुमार रानाले गठबन्धनका तर्फबाट हसियाँ हथौडा चिन्ह लिएर उम्मेद्वारी मनोनयन गरेका छन् भने एमालेका तर्फबाट देबराज घिमिरेले मनोनयन दर्ता गराएका छन् ।
झापा क्षेत्र नं. ४ मा एमालेबाट एलबी साँवाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् भने गठबन्धनका तर्फबाट देउमान थेवेले मनोनयन दर्ता गराएका छन् । झापा क्षेत्र नं–५ मा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका युवा नेता खगेन्द्रपाण्डव अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
अन्य निर्वाचन क्षेत्रमा भन्दा क्षेत्र नं. ३ मा गिरी लिङ्देन र सिटौलासँग निकै प्रतिस्पर्धा हुने देखिएको छ भने ५ मा केपिको तुलनामा कमजोर उम्मेद्वार भएकोले पनि केपी ओलीको ग्राउण्ड खाली भएको र जित सुनिश्चित देखिएको स्थानीयको बुझाई छ ।