बिर्तामोड । 

 झापाको बिर्तामोडमा ४० बर्षिय सन्तोष घिमिरेले अनेकौँ अवसर भएपनि राजनीतिक सुधारका लागि राजनीतिकमा गर्ने सोच बनेका छन् ।  पश्चिमा देशमा उनले आनन्दले जीवनयापन गर्न सक्ने उनको प्रशस्त खूबी हुँदा–हुँदै पनि उनलाई आफ्नै देशको चिन्ता छ । दीपेन्द्र प्रहरी स्कूलबाट माध्यमिक तहको शिक्षा पूरा गरेका घिमिरेले कान्तिपुर सिटी कलेजबाट सूचना प्रविधिमा स्नातक गरेका छन् ।

बेलायतमा रहँदा घिमिरले अक्सफोर्ड विश्वविद्यालय तथा जिनियस एकेडेमीमा ‘नेतृत्व विकास’ सम्बन्धी व्यवसायिक बिषयको अध्ययन गरे । लगभग १२ वर्षको बेलायत बसाईमा रिटेल, हेल्थ केयर तथा सूचना प्रबिधिको क्षेत्रमा पनि घिमिरेलाई अनुभव हासिल गर्ने मौका मिल्यो । संयुक्त अधिराज्यको इस्ट लण्डन विश्वविद्यालयबाट इनोभेटिभ टेक्नोलोजी विषय अन्तरगत कृत्रिम बौद्धिकता तथा मेसिन लर्निङमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका घिमिरे यतिबेला झापाको क्षेत्र नम्वर–२ मा घुम्दैछन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनले आफूलाई उमेद्वारका रुपमा उभ्याएका छन् । नवीन सोचको परिकल्पना तथा प्रयोग गर्न रुचाउने घिमिरेको स्वभाव छ । जसका कारण प्राकृतिक रुपमै घिमिरेलाई राजनीतिक रुपान्तरणको हुट–हुटी चलेको हो । विकृत बन्दै गएको राजनीतिमा सुधारको खाँचो देख्छन् उनी । झापाको बिर्तामोडका स्थायी बासिन्दा घिमिरे विकल्प कुर्दै बस्ने होइन, विकल्प आफैँ बन्नुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएका छन् ।

मनबाट मन बदलियो भने मात्रै देश बन्छ । त्यसैले सोच, शैली र संस्कार बदल्न चाहन्छन् उनी । त्यसका लागि घिमिरेलाई झापाको क्षेत्र नम्वर–२ का जनताको मतको खाँचो छ । पछिल्लो पाँच वर्षमा घिमिरे ‘काठमाडौं बाहिर पनि ठुलो नेपाल छ’ भन्ने सोच अन्तर्गत आफ्नै जन्मथलो झापाको बिर्तामोड नगरपालिकामा रहेर निरन्तर जन सेवामा सक्रिय छन् । सेवक सरकार, उद्यमशील समाज, जिम्मेवार नागरिक र गुरुराष्ट्र नेपालको निर्माण गर्ने उद्देश्य राखेर उनी नागरिकसँग विभिन्न मञ्चबाट हातेमालो गरिरहेका छन् ।

बलात्कार, महिला हिंसाविरुद्धको अभियानमा घिमिरेले आफूलाई सशक्त रुपमा उभ्याएका छन् । समाजका असल सारथी हुन घिमिरे ।तर्कशील क्षमताका धनी घिमिरे सामान्य जस्ता लाग्छन् । तर, उनको बौद्धिक छवि समाजका लागि एउटा आदर्श निष्ठा र पर्याय बन्न सक्ने देखिन्छ । समाज परिवर्तनको सकारात्मक अभियानमा उनका पाइला गतिशील हुन खोज्दैछन्, केवल जनताको मनदेखिको मतले उनको यो अभियान सफल हुनसक्छ ।