सुरुङ्गा । 

झापाको नगरपालिका झापाले विकास निर्माण तथा आर्थिक क्रियाकलाप सञ्चालन गर्दा विकृति, विसंगति, अनियमितता भएको भन्दै नगरका पाँच वडा राजनीतिक दलले आपत्ति जनाएका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रा.प्र.पा, नेकपा ए समाजवादी, ज.स.पा. लगायतका राजनीतिक दलहरुले बिज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । 

विकृति विसंगति, अनियमितता, अपारदर्शीता विषयवस्तुलाई सम्बोधन गरी सुधारात्मक दिशामा अगाडी नबढे चरणबद्ध रुपमा संघर्षमा उत्रिने समेत संयुक्त बिज्ञप्ती जारी गरी चेतावनी दिएका छन् । 

उनीहरुले धनीपुर्जा वितरण प्रक्रिया तथा कार्यक्रममा ढिलासुस्ती, उदाशिनताका कारण वितरण प्रक्रिया स्वगन भएकोमा दुःखका साथ घोर आपत्ति व्यक्त गरेका छन् । 

बिज्ञप्तीमा भनिएको छ ‘नगरकै फोहोर व्यवस्थापन अव्यवस्थित र चुनौतीपूर्ण भएको अवस्थामा विर्तामोडलगायत अन्य नगरपालिकाहरुको समेत फोहोर व्यवस्थापनको जिम्मा कनकार्इ नगरले लिएको तथा डम्पिङसाईटको व्यवस्था पनि कनकाईले नै गर्नुपर्ने भनि सम्झौता गरिएको बुझिन आएको हुनाले उक्त अविवेकपूर्ण गैरजिम्मेवार र अपरिपक्क निर्णयप्रति पूर्ण असहमती व्यक्त गर्दै अविलम्ब निर्णय सच्याउन जोडदार माग गर्दछ ।’

गुणस्तरहिन सडक वत्ति जडान गरि एकै ठाउमा लाखौं रुपैयाँका दुई दुई वटासम्म पोल वत्तिराखी फजुल खर्च गरिएको जस्ता अव्यवहारिक कार्यको पूर्ण असहमति व्यक्त गर्दै आम नगरवासी समक्ष स्पष्टिकरण दिन समेत जोडदार माग गरेका छन् । 

कृषि तथा पशुस्वास्थको बजेट कृषि तथा पशुस्वास्थको बजेट हेफर र अभियान नेपाल लगायतका संस्थाहरुलाई ठेक्का दिइएकोमा अविलम्ब खारेज गरी नगरले आफैले वडा मार्फत कार्यक्रम गर्न गराउन र त्यस भित्र भएका समुह गठन, मोटर (सिचाई) बाखाका पाठा वितरण जस्ता वेथिति आदीको विवरण पारदशी ढंगले नगरबासी समक्ष प्रस्तुत गर्न समेत बिज्ञप्तीमा माग माग गरिएको छ । 

बिज्ञप्तीमा माओवादी केन्द्र नगर अध्यक्ष यामनाथ सेडाई, रा.प्र.पा. नगर सचिव भुपेन्द्र दाहाल, ज.स.पा. नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, नेकपा ए समाजवादी नगर सयोजक प्रतिक राजवंशी र नेपाली कांग्रेस  नगर सभापति दुर्गाप्रसाद प्रसाइले हस्ताक्षर गरेका छन् ।