बिर्तामोड ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा भएको भष्ट्राचार र कुशासनको विरुद्ध डोजर चलाउने बताएका छन् । अध्यक्ष लिङ्देनले काठमाडौंका मेयर बालन साहले बिकासको लागि चलाएको डोजरको उदाहरण दिदै भष्ट्राचार र कुशासनका विरुद्ध राप्रपाले पनि त्यसरी नै डोजर चलाउने बताएका छन् । 

अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को राजनीतिकका कारण देश बनाउने भन्दा पनि खतरा आउन सक्ने आरोप लगाएका छन् । लिङ्देनले शुक्रवार बिर्तामोडमा आयोजित राप्रपाको भात्रृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाको अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

नेपालमा प्रधानमन्त्री कसलाई बनाउने बिदेशीहरुले योजना बनाइरहेको बताउँदै अध्यक्ष लिङ्देनले राजनीतिकमा आक्रमक तरिकाले नलागे देशमा ठूलो दुर्घटना हुने बताएका छन् । उनले राजनीतिकलाई उद्योगधन्दा तथा ब्यवसाय नबनाउन आग्रह गरेका छन् ।  

‘राप्रपा अकबरी सुन भएर आएको छ’ अध्यक्ष लिङ्देनले भने ‘अरु पित्तल बराबर छन् ।’ उनले देशमा लोकतन्त्र र गणतन्त्रका नाममा लुट मच्चिरहेको बताउँदै भने ‘कांग्रेस र कम्यिुनिष्टले गोठमा बाँधेको पशु तपाईहरु होइन ।’

अध्यक्ष लिङ्देनले युवाहरुले दुबई मलेशिया जस्ता देशहरुलाई बनाउन सक्छन् भने उनीहरुलाई देशमै रोजगारी र अवसर दिदा देश नै स्वर्ग जस्तो बनाउने दाबी गरे । उनले देशलाई चक्रभ्यूबाट निकाल्न भोट परिवर्तन गरेर राप्रपालाई जिताउनु पर्ने उनको भनाई थियो ।

कम्युनिष्ट र काँग्रेसको सरकारले धेरै बर्षदेखि केही गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष लिङ्देनले अव राप्रपालाई पनि मौका दिन र राप्रपाले गरेको काम हेर्न आग्रह गरेका छन् । यसै पटकको निर्वाचनमा भोट परिवर्तन गरेर राप्रपालाई काम गर्ने मौका दिन आग्रह गर्दै लिङ्देनले भने ‘अर्को निर्वाचनसम्म पर्खिने अवस्था छैन ।’ लिङ्देनले युवाहरु ससक्त रुपमा जागरुप भएर आगामी निर्वाचनमा राप्रपालाई जिताएर काम गर्ने अवसर दिन आग्रह गरेका छन् । ‘राजनीतिकबाट युवाहरु भाग्नु हुँदैन’ अध्यक्ष लिङ्देनले भने ‘राजनीतिक नराम्रो भन्दै युवाहरु पन्सिए राजनीतिक कसरी राम्रो हुन्छ ।’ देशको बिकास र परिवर्तका लागि युवाहरु राजनीतिकमा आउनु पर्नेमा अध्यक्ष लिङ्देनको जोड थियो । 

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाका अधिवेशन आयोजक समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । स्वागत युवा संगठनकी केन्द्रिय सदस्य पुनम राजवंशीले गरेको कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, बिशेष अतिथि राप्रपा प्रदेश नं. १ अध्यक्ष राम थापा, पार्टीका प्रवत्ता भक्ति सिटौला, पार्टीकी केन्द्रिय प्रशिक्षण बिभाग सदस्य खुश्वु ओली, युवा संगठनका प्रदेश नं. १ संयोजक राजकुमार योङ्या, पार्टीका झापा अध्यक्ष केशवप्रसाद ओझालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

अधिवेशनले झापाका सवै स्थानीय तहलाई समेटेर सर्वसम्मत रुपमा राजकुमार राईको अध्यक्षतामा ५१ सदस्यीय युवा संगठन झापा गठन गरेको छ । कार्यक्रमको सञ्चालन युवा संगठनका केन्द्रिय सदस्य केशव कार्कीले गरेका थिए । सोही कार्यक्रमकाबिच केहीले राप्रपामा पार्टी प्रवेश समेत गरेका थिए । 

raprapa 2