बिर्तामोड ।
अपाङ्गता भएका व्यक्तिहरुकोे राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताका लागि दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिवद्धता जनाएका हुन् ।
नेत्रहीन युवा संघ नेपालको आयोजना तथा संवाद समूह झापाको सहकार्यमा बिर्तामोडमा बिहीबार सम्पन्न कार्यक्रममा दलहरु प्रमुख तथा सरोकारवालाले समावेशी सिद्धान्तअन्तर्गत अपाङ्गता भएकाहरुको सहभागिता महत्वपूर्ण रहेको बताए ।
उनीहरुले आगामी निर्वाचनमा झापा जिल्लामा अपाङ्गतामैत्री संरचना निर्माणमा समेत प्रतिवद्धता जनाएका छन् । मतदानमा अपाङ्गता भएकाहरुको पूर्ण सहभागिताका लागि मतदान स्थल तथा केन्द्रहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइयो । कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचनमा सहभागिता सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचनमा सहभागी हुँदा विगतमा देखिएका समस्याहरु, अपाङ्गता भएकाहरुका लागि निर्वाचन प्रक्रियामा गर्नेपर्ने सुधारका पक्षहरुलगायत विषय राखेका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेत्रहीन युवा संघ नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएकाहरुको उम्मेदवारी सुनिश्चितता तथा अपांगता भएकाहरुको सवालहरु समेटिएको ज्ञापन पत्र समेत जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई बुझाएका छन् ।