विराटनगर ।
सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको छ ।
मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बहानाले नरोकिने पनि बताइन् ।
‘यो सरकार गठन भएको असोज २२ गते १ वर्ष पुग्दैछ । कात्तिकको १६ गतेदेखि महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनिपूर्जा वितरण अहिले देशभरी भइरहेको छ,’ श्रेष्ठले भनिन्, ‘बिना लक्ष्य, बिना बजेट हामीले हालसम्ममा ४९ हजारलाई लालपूर्जा वितरण गरेर सुकुम्बासीलाई जग्गाको मालिक बनाउन सफल भयौं ।’ सरकारले अब राज्य सुविधा परिचयपत्र भनेर दिने निर्णय गरेको छ बताउदै उनले त्यो परिचयपत्र विपन्नको सेवा सुविधाका लागि प्रयोग हुनेछ ।’
यसैबीच कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारलाई सुकुम्बासी आयोगले पूर्जा वितरण गरेको छ । मन्त्री श्रेष्ठले उनीहरुलाई पूर्जा वितरण गरेकी हुन् ।
कार्यक्रममा सुकुमबासी आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे (सामना), कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाअधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रमस्थलमै भूमिहीन सुकुम्बासी २७ जना र भूमिहीन दलित ९ जनाले जग्गाको धनीपूर्जा पाएका छन् । अन्यलाई तत्काल वितरण गर्ने आयोगले जनाएको छ ।