बिर्तामोड । 

साहित्य चौतारी झापाले भदौ २९ को मासिक साङ्गीतिक काव्यसभा गर्ने भएको छ । चौतारीले साङ्गीतिक काव्यसभा वरिष्ठ गायक तथा संगीतकार फत्तेमान राजभण्डारीमा समर्पित गर्ने भएको छ ।

गायन प्रतिभाका धनी फत्तेमानको नवौँ स्मृति दिवसलाई साहित्य चौतारीले मासिक काव्यसभा उनैमा समर्पित गर्ने निर्णय गरेको हो । मासिक सांगीतिक काव्यसभामा फत्तेमानका सिर्जना प्रस्तुत हुने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिएका छन् । 

उनका अनुसार फत्तेमान २०६२ मा आयोजित साहित्य चौतारीको छैटौँ वार्षिकोत्सव समारोहका प्रमुख अतिथि थिए । 

कार्यक्रममा नृत्य निर्देशक बालकुमार कटुवालको विशेष प्रस्तुति रहनेछ । अभिनय र कलामा उत्तिकै सक्रिय कटुवाललाई साहित्य चौतारीले २०६३ सालमा कलाकारिता पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा उत्कृष्ट बाल प्रतिभा रियाज रिजाल र वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारीको आतिथ्य रहने जनाइएको छ । 

त्यसैगरी  बाल दिवसको अवसर पारेर साहित्य चौतारीले उत्कृष्ट बाल प्रतिभालाई पुरस्कृत समेत गर्ने भएको छ ।  साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच÷पाँच जनाका दरले छानिएका बालप्रतिभा बीच भदौ २९ गते प्रतिस्पर्धा हुने बताइएको छ । 

छनोट भएका बाल प्रतिभाबीच प्रतिस्पर्धा हुने र उत्कृष्टलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरिने साहित्य चौतारीका संरक्षक श्रेष्ठले बताए । गायनतर्फ १५ जना सहभागीमध्ये एञ्जेल गहतराज, अर्पण निरौला, आयुष्मा घिमिरे, दीया अधिकारी, बृन्दा दाहाल छानिएको मासिक काव्यसभा संयोजक सुनिता तामाङले बताइन् ।

नृत्यतर्फ इतिशा मुखिया, श्रेया पौडेल, पृषा राई, रिया राजवंशी र कोभिडमणि ओली चयन भएका थिए । उनीहरु बीच फेरि प्रतिस्पर्धा गराइनेछ ।