विर्तामोड ।

झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बक्ताहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वारको मुख नहेरी रुख चिन्ह हेरेर मत दिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस विर्तामोड नगर समितिको आयोजनामा सम्पन्न १०९ औं वीपी जयन्ती एवं सम्मान कार्यक्रममा अधिकांश बक्ताहरुले कसले टिकट पाउँछ भन्ने मूल विषय नभएको बताउँदै वीपीले प्रतिपादन गरेको नेपाली भूगोल अनुरुपको प्रजातान्त्रिक समाजवादको सपना पुरा गर्न मुख होइन, रुख हेर्नुपर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय सदस्य सरिता प्रसाई, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरु जलकुमार गुरुङ, छत्र गिरी, दुर्योधन गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 कार्यक्रमका अधिकांश बक्ताहरुले कांग्रेसभित्रको अन्तरविरोध र अन्तरद्वन्द्वलाई आन्तरिक छलफलबाट टुङ्ग्याएर  आगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतपरिणाम प्राप्त हुनेगरी एकजुट भएर चुनावी अभियानमा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय तह निर्वाचनमा नगरभित्र जित हासिल गरेका जनप्रतिनिधिहरु विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, ६ का वडाध्यक्ष सूर्य कन्दङवा, ५ का वडाध्यक्ष रोहित प्रसाईसहित वडा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

विर्तामोड नगर सभापति भोजराज सिटौलाको सभापतित्व र उपसभापति सूर्य कन्दङ्वाले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन सचिव दिवाकर प्रसाइले गरेका थिए ।