विर्तामोड ।
विक्रम सम्बत् १९७१ भाद्र २४ गते जन्मिएका वी.पी. कोइरालाले प्रजातान्त्रिक समाजवादी नीति अघि सार्दै लामो समय नेपाली कांग्रेसको नेतृत्व गरेका थिए। तत्कालीन राणा शासकहरुको अन्याय, अत्याचार र शोषणबाट जनतालाई मुक्त गराएर लोकतान्त्रिक शासन पद्धतिका लागि जीवनभर संघर्षशील रहँदारहँदै उनको २०३९ साउन ६ गते निधन भएको थियो ।
नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइारालाको पारिवारिक पृष्ठभूमि नै राजनीतिमय थियो । प्रजातान्त्रिक शासन ब्यवस्थाका लागि संघर्ष गरेको आरोपमा जेल, नेल, निर्वासनको सजाय भोग्न बाध्य कोइरालाको राजनीतिक पृष्ठभूमि भारतीय स्वतन्त्रता आन्दोलनसँग जोडिएको छ ।
बनारस विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीति विषयमा उच्चशिक्षा हासिल गगरेका कोइरालाले कलकत्ता विश्व विद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका थिए । कोइारालाले वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए । जुन पार्टी पछि नेपाली कांग्रेस हुन पुग्यो ।
२००७ सालमा नेपालमा प्रजातन्त्र प्राप्तिपछि २०१५ सालमा भएको आम निर्वाचनपछि उनी पहिलोपटक जननिर्वाचित प्रधानमन्त्री भएका थिए । तर तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातन्त्रमाथि ‘कू’ गर्दै जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि नेपालमा पुनः पञ्चायती शासन ब्यवस्था लागु भयो । त्यसको विरोधमा रहेका वी.पी.कोइरालासहितका प्रजातन्त्रवादी नेताहरुलाई पुनः जेल, नेल र निर्वासनको सजाय दिइयो । लामो समय जेलमा विताएर लगभग २०२४ सालमा निर्वासनमा गएका कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्केका थिए । उनको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।
नेपाली राजनीतिमा मात्रै नभएर नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामले परिचित उनका मोदी आइन्, तीनघुम्ती, सुम्निमा, बाबु, आमा र छोरा, हिटलर र यहुदी, नरेन्द्रदाइ जस्ता उपन्यास प्रकाशित छन् भने विभिन्न कथा र जीवनीहरु प्रकाशित छन् । मनोवैज्ञानिक लेखनबृत्ति अंगाल्ने उनका अधिकांश साहित्यिक रचनाहरुमा यौन मनोविज्ञान, स्वतन्त्रता र उन्मुक्तिको तीव्र उत्कण्ठा पाइन्छ ।
उनै प्रजातान्त्रिक समाजवादका प्रणेता महामानव वीपी कोइरालाको १०९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ शुक्रबार देशभर मनाइएको छ । यही क्रममा झापा जिल्लामा पनि विविध कार्यक्रम सम्पन्न भएका छन् । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले वडा नं–७ र ४ को सिमानामा पर्ने बालुवाटारस्थित दुर्गामन्दिरको प्राङ्गढमा रुद्राक्षको विरुवा रोपेर वीपी जयन्ती सम्पन्न गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्य र सरिता प्रसाईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव कृष्ण हुमागाई, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय, प्रदेश क्षेत्रीय एवं नगर समितिका पदाधिकारी सदस्य, क्रियाशील सदस्यहरुको सहभागिता रहेको थियो ।
नगर सभापति हेमराज खरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


















