बिर्तामोड ।

 संघीय लिम्बुवान पार्टी नेपालले निर्वाचनमा सहभागीता जनाउने भएको छ । लिम्बुवान पार्टी (सञ्जुहाङ पालुङ्वा) समुहले आगामी मंशिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागीता जनाउने भएको हो । 

पार्टीको भदौ १५ र १६ गते झापाको बिर्तामोडमा पार्टीका अध्यक्ष सन्जुहाङ पालुङवाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको बिर्तामोडमा बिहीवार (आज)  पत्रकार भेटघाट गरी निर्णय सार्वजनिक गरिएको छ । पार्टीले प्रदेश नं. १ का ४२ वटै सिटमा उम्मेद्वार खडा गर्ने र आवश्यकताको आधारमा प्रतिनिधिसभाका लागि पनि उम्मेद्वारी दिने निर्णय गरेको छ । 

limbu

संघीय लिम्बुवान पार्टी नेपालले निर्वाचनलाई रणनीतिक रुपमा नभई कार्यनीतिक रूपमा लिदै आएको अध्यक्ष पालुङ्वाले जानकारी दिए । लिम्बुवान आन्दोलनको प्रधान स्वरुप आन्दोलन र विद्रोह नै भएता पनि वर्तमान परिस्थितिमा चुनावलाई आन्दोलन कै रुपमा उपयोग गर्ने नीति पार्टीले लिएको पार्टीका सर्वमान्य नेता बीर नेम्वाङले बताएका छन् । आगामी मंशिर ४ गते हुने संघीयसभा र प्रदेश सभाको निर्वाचनलाई लिम्बुवान क्षेत्र भरी स्वतन्त्र उमेद्वारी मार्फत उपयोग गर्ने निर्णय सर्वसहमतिबाट पारित भएको उनले जानकारी दिए । 

पार्टी चुनावमा जानु लिम्बुवानको ऐतिहासिक सन्धि, सम्झौता र विगतमा सम्पन्न भएका थुप्रै लिम्बुवान आन्दोलहरुको भावना र मर्म अनुरुप लिम्बुवान स्वायत्त राज्य स्थापना गर्न, वर्तमान एकात्मक–औपनिवेसिक राज्य व्यावस्था अन्तर्गत हुने भ्रष्ट, मंङगो बिहारी शैलिको निर्वाचन प्रणालीको निर्थकता र गलत भएको साबित र जनतामा सु–सुचित गर्न, नेपालको एकात्मक केन्द्रीकृत शासन व्यवस्था र निर्वाचनबाट सदियौं देखिको सम्बोधन हुन नसकेको लिम्बुवान स्वशासन, स्वायत्तता र पहिचान स्थापित गर्न, वर्तमान राज्य व्यावस्था भन्दा बाहिर संघर्ष, वैकल्पीक सामुदायिक समानान्तर सत्ताको स्थापना गर्न, लिम्बुवान विद्रोह मार्फत मात्रै सम्भव छ भन्ने कुरा बुझाउन र लिम्बुवान र पहिचान विरोधी एकात्मक प्रतिगामी राजनितीक पार्टीहरुलाई लिम्बुवानवासी जनताबाट नङ्ग्याउनु रहेको पत्रकार भेटघाटमा वितरित प्रेस बिज्ञप्तीमा उल्लेख छ । 

त्यसैगरी संगठन विस्तार र सुदृढ गर्दै पार्टीको विचार र लिम्बुवान आन्दोलनलाई व्यापक प्रचार– प्रसार गर्न र निकट भविश्यमै लिम्बुवान विद्रोहको जगबाट लिम्बुवान स्वायत्त राज्य स्थापना गर्ने आधारभूमि तयार गर्ने सोचका साथ निर्वाचनमा सहभागीता जनाएको बताइएको छ ।

त्यस्तै पार्टीका अध्यक्ष पालुङवाको संयोजकत्वमा चुनावी घोषणा पत्र निर्माण तथा निर्वाचन परिचालन गर्न पाटीका सुवास खापुङ, निश्चलता लावती, भिम खत्री, मित्र लिङदेन, दुर्गा साँवा मुत्तिहाङ, लासिम पालुङवा, एल.वि. पालुङवा, संजय राई, नविन याम्फु र गोपाल भुजेल रहेको ११ सदस्यीय समिति समेत गठन गरिएको पार्टीका केन्द्रिय कोषाध्यक्ष एलबी पालुङ्वाले जानकारी दिए । 

संघीय लिम्बुवान पार्टी, नेपालको विशेष संगठन ‘लिम्बुवान काङसोर फोर्स’ को विनियम २०७९ सर्वसहमतिबाट पारित गर्दै लिम्बुवान ‘काइसोर फोर्स’ को उप–कमान्डरमा पार्टीका विभागीय सचिव संजय राईलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । लिम्बुवान नारी संगठनका संयोजक पार्टीका उपाध्यक्ष निश्चलता लावती, लिम्बुवान विद्यार्थी संगठनको संयोजकको केन्द्रिय सदस्य नविन याम्फु, पार्टीको मोरङ जिल्ला संयोजक लक्ष्मी थेवेलाई जिम्मेवारी दिने निर्णय गरिएको जनाइएको छ ।