झापा ।
झापाको ‘सेतो बाघ’ भनेर चिनिने विकासप्रेमी नेता पूर्व मन्त्री एवं नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी गठबन्धनबाटै झापा क्षेत्र नं २ मा उम्मेद्धार बन्ने संभावना रहेको छ । उनी उम्मेद्धार बन्ने मात्र हैन जित्ने समेत लगभग निश्चित रहेको झापाका काँग्रेसी र क्षेत्र नं २ का समर्थक मतदाताले अनुमान लगाएका छन् । उनी उम्मेद्धार हुने चर्चासँगै स्थानीय मतदाता र कार्यकर्ताहरु उत्साहित देखिएका छन् ।
अघिल्लो पटक क्षेत्र नं ४ बाट निर्वाचित बुढाथोकी ७४ सालको निर्वाचनमा उम्मेद्धार भएका थिएनन् ।पञ्चायत कालदेखि गणतन्त्रसम्म विभिन्न मन्त्रालय सम्हालेका स्वच्छ छविका अनुभवी मात्र हैन झापाका निकै लोकप्रिय नेतामा गनिन्छन् ।
झापाका नेपाली कांग्रेसका नेताहरु महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व उप प्रधानमन्त्री एवं नेकां पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र बुढाथोकी चिनिन्छन् । बुढाथोकी दल र समुह नहेरी आफूले गर्न सक्ने सहयोग सबैलाई गर्दछन् भने उनीमाथि अहिलेसम्म कुनैपनि घोटाला वा भ्रष्टाचारको आरोप कसैले लगाउने ठाउँ छैन ।
बुढाथोकी यस पटक आफ्नै क्षेत्रबाट निर्वाचित भएर जनताको सेवा गर्ने ईच्छा रहेकाले २ नं. क्षेत्रमै जान खोजेको बताउछन् ।बुढाथोकीको लोकप्रियता, निर्वाचन जित्न सक्ने पात्र भएकाले झापा काँग्रेसले बुढाथोकीको नाम अघि सार्ने लगभग निश्चित रहेको बुझिएको छ ।
बुढाथोकी ४४ सालमा जलस्रोत सहायक मन्त्री बनेका थिए । त्यतिबेला नै उनले ७५ जिल्लामै सिञ्चाई कार्यालय खोलेका थिए ।
५१ सालको चुनावमा एमालेका अहिलेका अध्यक्ष केपी ओलीसँग निर्वाचन हारेका बुढाथोकीले ६४ सालको चुनाव जितेका थिए । त्यसपछि ७० सालमा पनि उनले चुनाव जितेका थिए । ७३ सालमा उनी ९ महिना सामान्य प्रशासन मन्त्री पनि बनेका थिए ।
अहिले पुनः क्षेत्रका मतदाता र कार्यकर्ताको चाहना र माग अनुसार बुढाथोकी मैदानमा उत्रने तयारीमा छन् । त्यसका लागि नेता कार्यकर्ता लागि परेका छन् ।