झापा । 

 नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको शनिबार राति भएको निधनले देशले एक सच्चा र असल नेता गुमाएको छ । लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित गिरीको उपचारकै क्रममा हिजो राति ९ः ३० बजे ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । 

नेता गिरीको निधन भएपछि नेपालका मिडिया, सामाजिक सञ्जालहरुमा उनलाई माया गर्नेहरुले उनको तस्वीर पोष्ट गरेर उनलाई भावपूर्ण श्रद्धाञ्जली र परिवारजनलाई समवेदना प्रकट गरेका छन् । 

गिरीको निधनपछि राजनीतिकलगायत विभिन्न व्यक्तित्वहरुका विचार प्रकाशित छन् भने सामाजिक सञ्जालहरुमा पनि उहाँको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राजनीतिमा उनले  देखाउनु भएको निष्ठाका विषयलाई उच्च महत्वका साथ विचार व्यक्त गरिएका छन् । 

नेता गिरीका लेख, अन्तरवार्ताले नयाँ विचार र दृष्टिकोण दिनुको साथै राजनीतिलाई फरक ढङ्गबाट विश्लेषण समेत गर्ने हुँदा नेपाली मिडियाहरु उनीप्रति सधैँ अनुग्रहित नै रहेका छन् । उनको निधनले मिडिया जगतलाई पनि अपूरर्णिय क्षति भएको महसुस भएको छ ।