बिर्तामोड । 

अखिल नेपाल महिला संघ झापाको नवौं जिल्ला सम्मेलन भदौ ४ र ५ गते झापाको बिर्तामोडमा हुने भएको छ । अनेम संघ झापाले शुक्रबार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी सम्मेलनको तयारीका बारेमा जानकारी दिएको हो । 

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने उक्त कार्यक्रममा चार सय एक जना प्रतिनिधिहरु रहने छन् अनेम संघ झापा अध्यक्ष जसमाया गजुरेलले जानकारी दिइन् । उनका अनुसार सम्मेलनमा दुई हजार महिलाको उपस्थिति रहने छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउने प्रतिवद्धतासहित सम्मेलनमा सर्वसम्मत  नेतृत्व टुङ्गो लगाउने तयारी भएको अनेम संघकी केन्द्रिय सचिव मेनका काफ्लेले जानकारी दिइन् । उनले प्रदेश र संघको निर्वाचनमा महिलाहरु ३३ प्रतिशत प्रत्यक्षमा चुनाव लड्न तयार रहेका बताइन् । समानुपातिक र प्रत्यक्षमा महिलाले ५०÷५० प्रतिशत नै लिनु पर्ने उनको भनाई थियो । 

पत्रकार भेटघाट कार्यक्रममा सांसद पवित्रा निरौला खरेल, अनेम संघ झापा सहसचिव चन्द्रा श्रेष्ठ, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईलगायतको उपस्थिति रहेको थियो । २१ हजार अनेम संघका सदस्य रहेको बताउँदै युवा पुस्तालाई प्राथमिकतामा राखेर नेतृत्व चयन हुने जनाइएको छ ।