झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा पाँच जना नेताहरु उपाध्यक्ष बन्ने भएका छन् । माओवादी केन्द्रका एक नेताले दिएको जानकारी अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् ।
प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् । माओवादी केन्द्रको बिहीबार बस्ने बैठकले पदाधिकारी टुंगो लगाउने भएको भए पनि बैठक भने शुरु भएको छैन ।
माओवादी केन्द्रको आज बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने भएका छन् । माओवादी नेताहरुका अनुसार देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।