विर्तामोड ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीका सबै तह, भातृ तथा शुभेच्छुक संघसंस्थाहरुलाई एकजुट भएर प्रदेश र संघीय निर्वाचन सफल बनाउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस झापाको आयोजनामा भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको सांगठनिक अवस्था एवं आगामी निर्वाचनमा भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थेवेले त्यस्तो आग्रह गरेका हुन् ।
सबै भातृ तथा शुभेच्छुक संस्थाका सबै तहका समितिलाई सक्रिय बनाएर निर्वाचनको प्रचार–प्रसारलाई गाउँ–टोलसम्म पु¥याउन निर्देशन दिदै सभापति थेवेले नेपाली कांग्रेसको पक्षमा जनमत बनाउन आग्रह गरे । आगामी भदौ १० देखि १५ गतेसम्ममा सबै भातृ तथा शुभेच्छुक संस्थाको जिल्लास्तरीय बैठक बसेर पालिका एवं वडा तहमा प्रतिनिधि खटाई संगठनलाई चलायमान र सुदृढ बनाउन समेत सभापति थेवेले आह्वान गरे ।
२५ बढी भातृ तथा शुभेच्छुक संघसंस्थाका सभापति, सचिव तथा प्रतिनिधि सहभागी अन्तरक्रियामा सबैले आ–आफ्नो सांगठनिक संरचनाको वर्तमान अवस्थाबारे बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भटराई, सचिव कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कमल भण्डारी, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली र जयनारायण शाह, नेपाल महिला संघ उपाध्यक्ष चन्द्रकला भण्डारी र सचिव उर्मिला पोखरेल, ४ नम्बर क्षेत्रीय सभापति अन्जु थपलिया लगायतले आ–आफ्नो धारणा राख्दै राष्ट्रिय राजनीतिक आवश्यकताका आधारमा गठबन्धन जरुरी भएको बताउँदै गठनबन्धनको आवश्यकताबारे सवै जनतालाई बुझाउन जरुरी रहेको बताए।