बिर्तामोड ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारी गरिरहेको बताएका छन् ।
अध्यक्ष लिङ्देनले बुधवार (आज) झापाको बिर्तामोडमा पत्रकारहरुसँगको भेटघाटका क्रममा आफु झापा क्षेत्र नं ३ बाटै उठ्ने संकेत गरेका छन् ।
पत्रकारहरुसँगको सुझाव संकलनका बारेमा आयोजित कार्यक्रममा बोल्दै सांसद लिङ्देनले फेरि पनि आफू त्यही क्षेत्रबाट उठ्ने संकेत गरेका हुन् । ‘३ नम्बर क्षेत्र छोडेर कहाँ जानु अध्यक्ष लिङ्देनले भने ‘मेरा सवै देवी देवता ३ नम्बरमै छन् ।’
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव जितेका नेता लिङ्देनले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै लड्ने टुङ्गो नभएको बताउँदै त्यतिवेलाको अवस्था अनुसार अघि वढ्ने बताएका छन् ।
उनले चुनावमा गठबन्धन बनाउनु स्वाभाविक र प्राकृतिक कुरा भएको बताएका छन् । नेपालका राजनीतिक दलको गठबन्धन बिचारको आधारमा नबनेको उनले जिकिर गरे । लिङ्देन राप्रपाको अध्यक्ष भएपछि पहिलो पटक झापाका पत्रकारहरुसँग सुझाव संकलनका क्रममा भेटघाट गरेका हुन् ।
पत्रकार भेटघाटका क्रममा अध्यक्ष लिङ्देनले परिवर्तन भन्ने कुरा सामान्य ब्यक्तिबाटै हुने बताउँदै सानो आशाको दियोको रुपमा आफ्नो राजनीतिक भएकाले सवैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । पत्रकार भेटघाट कार्यक्रममा पार्टीका प्रवत्ता भक्ति सिटौला, पार्टीका झापा अध्यक्ष केशवप्रसाद ओझा, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईलगायतको उपस्थिति रहेको थियो ।