भद्रपुर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा जातीय फ्याक्शन इन्चार्च मुक्साहाङ मेयाङ्वो प्रदेश नम्बर १ को नामकरण बहुपहिचानका आधारमा हुनु पर्ने बताएका छन् ।
नेता मेयाङ्वोले अहिलेको १ नम्बर प्रदेशको भूगोल अर्थात १४ जिल्ला कोचिला, लिम्बुवान र किराँत सभ्यताको उद्गमस्थल भएकाले बहुपहिचानको आधारमा नामकरण हुनु पर्ने बताएका हुन् । साझा पहिचान र सह–अस्तित्वसहितको कोचिला, लिम्बुवान, किराँत नामकरण हुँदा सवैको अधिकार समेटिने नेता मेयाङ्वोको भनाई छ । पार्टीको आधिकारिक बटम लाइन पनि त्यहि भएको उनले बताएका छन् ।
भद्रपुरमा सोमवार (आज) भएको कार्यक्रममा नेता मेयाङ्वोले त्यस्तो बताएका हुन् । ३ नम्बर क्षेत्र इन्चार्ज डिल्ली घिमिरे (हिक्मत) को अध्यक्षता भएको कार्यक्रममा पोलिट ब्यूरो सदस्य तथा प्रदेश नं. १ सह–इन्चार्ज सावित्रीकुमार काफ्ले (समर) को प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा पार्टीका प्रदेश नं. १ सचिव गणेश उप्रेती, प्रदेश सचिवालय सदस्य तथा झापा सह–इन्चार्ज पुरुषोत्तम चुडाल (राजु)लगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । त्यस्तै प्रदेश नम्बर १ कोषाध्यक्षले पार्टीको सर्कुलर बाचन गरेका थिए ।
सोही कार्यक्रमकाबिच ३ नम्बर क्षेत्रिय समिति र प्रादेशिक निर्वाचन क्षेत्र समितिसमेत गठन गरिएको भद्रपुर नगर सह–इन्चार्ज पुकार राजबंशीले जानकारी दिए ।