बिर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोलिट ब्यूरो सदस्य धर्मशीला चापागाईले नेकपा एमालेसँग सैद्धान्तिक लडाई लड्नु पर्ने बताएकी छिन् ।  माओवादी हिजो पनि संसोधनवादका बिरुद्ध लडेरै आएको बताउँदै एमालेसँग साँगठनिक लडाई  पनि लडेको उनले जिकिर गरिन् । 

चापागाईले नेकपा एमालेलाई जनताको बिचमा नङ्याउन आवश्यक रहेको बताएकी छिन् । नेपाली कांग्रेससँग गठबन्धन गर्नु बाध्यता भएको बताउँदै अव पनि एमाले बिरुद्ध नलडे अझै १० बर्ष पार्टीले पूर्वमा निर्वाचन जित्न नसक्ने धारणा राखेकी छिन् । 

नेकपा(माओवादी केन्द्र) २ नम्बर क्षेत्रिय समितिले बिर्तामोडमा आइतवार (आज) आयोजित क्षेत्रिय समन्वय समितिको विस्तारित बैठककी प्रमुख अतिथिसमेत रहेकी चापागाईले त्यस्तो बताएकी हुन् । 

‘देशको मुख्य सत्रु एमाले भएको छ’ पोलिट ब्यूरो सदस्य चापागाईले भनिन् ‘जसले संविधान लत्यायो ।’ उनले एमालेको चरित्र जनता समक्ष नङ्गाउन आवश्यक गरेको बताइन् । ‘नागरिकता विधेयक जे पास भयो, त्यो एमालेको ड्याफ हो’ उनले भनिन् ‘आज त्यस विरुद्ध एमाले नै लागेको छ ।’ उनले एमालेको सरकार हुँदा उसले गरेको भण्ट्राचार र स्थानीय तहको बेरजुको अवस्थाको भण्डाफोर गर्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा बोल्दै चापागाईले चारदलिय समाजबादी केन्द्र निर्माणको पनि पनि संकेत गरिन् । 

चापागाईले पार्टीले निराश भएर दुलाभित्र पस्ने अवस्था नरहेको बताउँदै पार्टीको दस्तावेजलाई कार्यन्वयन गरेर जान सके प्रदेश र संघीय निर्वाचनमा सन्तोषजनक जीत हासिल गर्न सक्ने धारण ब्यक्त गरिन् । 

‘झण्डै झण्डै मरेर बाँचेकी म यहि देख्न हो ?’ चापागाईले प्रश्न गर्दै भनिन् ‘हिजो हामी ५/६ जना हुँदा त्यस्तो पार्टी अहिले यत्रो ठूलो हुँदा पनि यो अवस्था किन ? उनले पार्टीभित्र आफुले आफैलाई सिध्याउने प्रबृति त्यागेर एकजुट भएर जनताको घरघरमा जाने अभियान बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छिन् । उनले नेता तथा कार्यकर्तामा केही कमि कमजोरी हुन सक्ने बताउँदै सुधार गरेर जनताका घर–घरमा जानु पर्ने बताएकी छिन् । 

कार्यक्रममा पार्टीका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, अर्जुनधाराका अध्यक्ष नरकुमार तामाङ(नारद) र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङले आ–आफ्नो पालिकाको बिषयमा समग्र रिपोटिङ प्रस्तुत गरेका थिए । 

पार्टीका प्रदेश नं. १ सचिवालय सदस्य, झापा सह–इन्चार्ज तथा २ नम्बर क्षेत्र प्रमुख सीपी कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने(सरु), प्रदेश नं. १ उपाध्यक्ष शिव डाँगी, मणिकुमार साम्पाङ(विजय), प्रदेश सचिवालय सदस्य ज्योतिसिंह दर्लामी, रोशन कन्दङ्वा, शिखर कडरिया, कुबेर श्रेष्ठ (अरुण), अस्मिता तामाङ, भूपाल सापकोटा, सञ्चार नेम्वाङ, बासु दुलाल, जितेश योञ्जन, रोशन तिम्सिना, भिम लकान्द्री, बिर्तामोड उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, छाया सिग्देल, सचिव गणेश कालिकोटेलगायतको उपस्थिति रहेको थियो ।

प्रदेश उपाध्यक्ष शिव डाँगीले पार्टीको प्रदेश अवस्था वारे आफ्नो भनाई प्रस्तुत गरेको कार्यक्रममा प्रदेश सचिवालय सदस्य भूपाल सापकोटाले प्रदेशको सर्कुलर प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रदेश सदस्य खड्ग तिम्सिना(रोशन) ले गरेका थिए ।