झापा ।
नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले प्रदेश नं. १ को नामकरण सगरमाथा राख्नु पर्ने माग अघि सारेको छ । नेपाल बहुजाती, बहुभाषी, बहुबर्गीय राष्ट्र भएकाले प्रदेश नम्बर १ को नामकरण भूगोलको आधारमा सगरमाथा राख्नु पर्ने समाजले आग्रह गरेको हो ।
विश्वमा नेपाल हिमालको नामले चिनिएको देश र चिनाउन पनि सजिलो हुने भएकाले प्रदेश नं. १ को नाम सगरमाथा नै उचित हुने नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले बताएका छन् ।
समाजका प्रदेश नं. १ अध्यक्ष गिरीले शुक्रवार एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश नं. १ को नामाकरण जातीय आधारमा भए समाजले देशब्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
गिरीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ‘नेपाल राष्ट्रमा सदिऔंदेखि सवै जातजाती, भाषाभाषी, बर्ग एकआपसमा मिलेर बसेका छन्, साथै सवैले सामाजिक सद्भाव कायम राखेको देश भएकोले पनि प्रदेश नं. १ को नामकरण सगरमाथा नै हुनु पर्ने स्मरण गराउँदछौं ।’
प्रदेश नं. १ को नामकरणको बिषयमा बिभिन्न एकल जातीय नामको चर्चा सुनिरहेको बताउँदै अध्यक्ष गिरीले आदिम कालदेखि बसोबास गर्ने खस दशनामी समाजले यस प्रदेशको नाम सगरमाथा चाहेको बताए ।