बिर्तामोड ।
विभिन्न माग र विकल्पहरुबीचमा साझा सहमति जुटाएर प्रदेश १ को नामाकरण गर्न झापाका पहिचानवादी संघसंस्थाका प्रतिनिधिले माग गरेका छन् ।
उनीहरुले विभिन्न पक्षको माग र विकल्पहरुमा साझा सहमति जुटाउन वृहत्त गोलमेच छलफल गर्न समेत प्रदेश सरकार समक्ष माग गरेका छन् । आज (मंगलबार) संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले विवाद र द्वन्द्वरहित ढंगले साझा सहमतिको आधारमा यथाशिघ्र प्रदेश नामाकरण गर्न प्रदेश सभा, प्रदेश सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।
छलफल र संवादको माध्यमबाट प्रदेश नामाकरणको विषय टुंग्याउन आग्रह गर्दै नामाकरणको लागि आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न समेत उनीहरुको आग्रह छ ।
आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ, संघीय लिम्बुवान मञ्चका झापा अध्यक्ष नगेन्द्र राई, कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशी, राष्ट्रिय जनमुक्ती पार्टीका पूर्व जिल्ला अध्यक्ष पर्शुराम मगर, उक्त पार्टीका जिल्ला सचिव प्रकाश पाठकलगायतले पनि जातीय पहिचानमा साझा सहमति जुटाउन नसके भूगोलको पहिचानमा साझा सहमति जुटाएर प्रदेशको नामाकरणको विवाद टुंग्याउन आग्रह गरे । कार्यक्रमका सहभागीले प्रदेशको नामसंगै संविधानअनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र समेत तोकेर अघि बढ्नुपर्ने धारणा राखे ।