हल्दिबारी । 

नेपाल रेडक्रस सोसाइटी, उपशाखा जलथलको लाखौं रकम हिनामिना भएको घटनामा वर्तमान हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिहरुको समेत मिलेमतो रहेको नेकपा एमाले हल्दीबारीले आरोप लगाएको छ ।

गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान कार्य समितिका पदाधिकारीले नै रकम हिनामिना गरेको आरोप लगाएका हुन् । सभापति विष्णुप्रसाद ओलीको नामबाट रकम झिकेर हिनामिना गरेको भनिए पनि कुनै पनि संस्थाको बैंक खाता अध्यक्ष, सचिव र कोषाध्यक्षको दस्तखतबाट सञ्चालन हुने बताएका छन् ।

त्यस्तै खर्च गर्दा बार्षिक साधारणसभाबाट बजेट, नीति तथा कार्यक्रम पारित गरेर मात्र खर्च गर्नुपर्ने भएकोले कुनै एक व्यक्तिले मात्रै रकम हिनामिना गर्न नसक्ने भएकोले निवर्तमान कार्य समितिका पदाधिकारीहरु समेतको मिलेमतो रहेको अध्यक्ष सापकोटाले बताएका छन् ।

निवर्तमान कार्य समितिका उपसभापति लक्ष्मीदेवी मैनाली हाल हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष रहेको, सचिव भगिरथा दाहाल, हाल कार्यपालिका सदस्य रहेको र कोषाध्यक्ष सुरेन्द्र बारकोटी हाल हल्दीबारी–४ को वडा सदस्य रहेकोले निजहरु समेतको मिलेमतोमा रकम हिनामिना भएकोले सत्यतथ्य छानवीन गरि दोषि उपर कारवाहिको माग गर्दै नेकपा एमाले हल्दीबारीले प्रेस विज्ञप्ति जारी गरेको छ । बिज्ञप्तीमा एमाले अध्यक्ष सापकोटाले हस्ताक्षर गरेका छन् ।