सुरुङ्गा । 

 झापाको  सुरुङगामा शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानले रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ ।  शहीद गौतमको २९ औं स्मृति सभामा ११ महिलासहित ४६ जनाले रक्तदान गरेका छन् ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी धरान रक्त सञ्चार सेवाको प्राविधिक सहयोग रहेको बताइएको छ । कार्यक्रममा शिक्षासेवी एवं साहित्यकार कोमलप्रसाद पोखरेल साथै झापा जिल्ला बार एशोसिएसनकी सचिव हेमकला कट्टेललाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद एल.पी. साँवालिम्बू, संविधान सभा सदस्य अम्बिका राजवंशी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, निवर्तमान नगर उपप्रमुख मन्जु प्रसाईँ लगायतले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथिका समेत रहेका सांसद साँवाले समाजमा बेथिती, अन्याय र भ्रष्टाचारको जालो रहेसम्म शहीदको सपना साकार हुन नसक्ने बताए । समाज रुपान्तरणकालागि सामाजिक एकता अपरिहार्य रहेको भन्दै सांसद साँवाले कनकाईको सुरुङ्गामा शहीदसँग जोडिएको लक्ष्मी मार्ग सडक निर्माणमा ठेकेदार कम्पनी र सडक विभागबाट भएको लापरबाही शहीदप्रतिको अपमान भएको जनाएका छन् ।

बजेटको व्यवस्थापन भएर ठेक्का सम्झौता भइसकेपछि तोकिएको समय सिमामा कार्य सम्पन्न हुनु पर्ने भन्दै सांसद साँवाले शहीदको सपना साकार पार्ने कार्यमा सबै राजनीतिक दल, सामाजिक संघसंस्थाहरु एक ठाउँमा उभिनु पर्ने बताए ।   प्रतिष्ठानकालागि कनकाई नगरपालिकाका प्रमुख रोजेन्द्र पोखरेलले तीन कठ्ठा जमीन अनुदान दिइएको जनाइएको छ ।  

कार्यक्रममा सम्मानित व्यक्तित्व कोमलप्रसाद पोखरेल र हेमकला कट्टेल, प्रजापति सामुदायिक वन समूहका अध्यक्ष दलवहादुर वि.क., नेकपा माओवादी कनकाईका अध्यक्ष यामनाथ सेडाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।