बिर्तामोड ।
झापाको बिर्तामोड–४ स्थित बिर्ताबजारमा रहेको ग्लोरी इग्लिस बोडिङ स्कुलले बिद्यालय क्याप्टेन छनौटका लागि निर्वाचन गरेको छ ।
बिद्यार्थीलाई निर्वाचन सम्बन्धी ज्ञान दिने उदेश्यले मंगलवार (आज) बिद्यालयमा बिद्यार्थीहरु मध्येबाट क्याप्टेन छनौटका लागि चुनाव गरिएको बिद्यालयका ब्यवस्थापन प्रमुख सन्तोष प्रसाईले जानकारी दिएका हुन् ।
कक्षा ३ देखि १० सम्मका दुईसय ५० बिद्यार्थीले मतदान गर्ने उक्त निर्वाचनमा एक छात्र र एक छात्रा क्याप्टेन गरी दुईजनाका लागि ६ जना छात्र र ४ जना छात्रा गरी १० जनाले उम्मेद्वारी दिएका थिए ।
निर्वाचनमा छात्रातर्फ क्याप्टेनका उम्मेद्वार साइमन बस्नेत निर्वाचित भएका छन् भने छात्रातर्फ दिपिका अधिकारी निर्वाचित भएकी छिन् । बस्नेतले १३४ मत प्राप्त गर्दै छात्रतर्फबाट क्याप्टेन बनेका छन् भने अधिकारीले १२८ मत प्राप्त गर्दै छात्रातर्फबाट क्याप्टेनमा निर्वाचित भएकी छिन् । २०२ मत झरेको निर्वाचनमा १६ मत बदर भएको जनाइएको छ ।
छात्रतर्फ उम्मेद्वारहरुमा कक्षा ९ का साइमन बस्नेत, कक्षा ८ का अमन यादव, एमडी फैजान, कृष राजवंशी, रोशन साह र कक्षा ७ का शिराज पाठक रहेका थिए भने छात्रातर्फ कक्षा ९ की दिपिका अधिकारी, कक्षा ८ की तनिषा साह, समिक्षा साह र कक्षा ७ की जानु थापाले उम्मेद्वारी दिएका थिए ।
सामाजिक बिषयका शिक्षक राजु निरौला निर्वाचन अधिकृत रहेको निर्वाचन समितिमा बिद्यालयका प्रिन्सिपल इन्द्रदेव केरुङ, बिद्यालयका ब्यवस्थापन प्रमुख सन्तोष प्रसाई, शिक्षक शानबहादुर बस्नेत रहेको जनाइएको छ ।
२०५१ सालमा स्थापना भएर हाल नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको बिद्यालयमा चारसय ५० बिद्यार्थी र ३५ जना शिक्षक÷शिक्षिका रहेको जनाइएको छ ।