- उद्धव पुरी
लक्ष्मीपुर ।
केही बर्ष पहिले पेशाकै रुपमा रहेको गोरखपुरे आराबाट काठ काट्ने वा चिर्ने पेशा प्रविधि बढेसँगै लोप हुँदै गएको छ । तरपनि अझै कहीँकतै त्यसरी काठ चिर्ने गरेको पाइन्छ । त्यसरी काठ चिर्नेहरुको दैनिकी कार्य नहुँदा जिविकोपार्जन गर्न समस्या हुँदै गएको बताउँछन् । जुनवेला काठ मिल थिएन त्यस समय गोरखपुरे आराबाट काठ चिर्नेहरु प्रत्येक गाउँ–गाउँमा भेटिन्थे । तर, हाल त्यस्तो काठ चिर्नेहरुको संख्या एकदमै कम भएको हो ।
विश्व प्रविधिमैत्री बन्दै गएपछि नेपालमा पनि शहर र गाउँ–गाउँमा काठ चिर्ने उद्योग खुल्न थालेपछि गोरखपुरे आराद्धारा काठ चिर्ने पेशा लोप हुने क्रममा रहेको छ ।
झापाको कनकाई नगरपालिका वडा नं. ८ का ६७ बर्षिय चुडामणि बराइली र अर्जुनधारा नगरपालिका वडा नं. ५ का ६६ बर्षिय राजकुमार मगरले गोरखपुरे आराबाट काठ चिर्ने पेशालाई निरन्तरता दिदै आएका छन् । ठूलै परिणामको काठ हुँदा काठ मिलमै छिटो र थोरै मूल्यमा चिरिने भएकाले हाल गाउँ–घरमा स–साना काठ चिर्ने गरेको उनीहरुको भनाई छ ।
अति विपन्न बराइली र मगरले करिब ७ बर्ष अघिदेखि जोडीका रुपमा काठ चिर्ने कार्य गरेको बताएका छन् । बराइली २५ बर्षदेखि उक्त पेशामा आवद्ध छन् भने मगर करिव ३० बर्षदेखि आबद्ध रहेको बताउँछन् । एक रुपैयाँ ५० पैसा फिटका दरले काठ चिर्दै आएका बराइली हाल फिटको २५/३० रुपैयाँ लिने गरेको बताउँछन् । त्यस्तै अर्का मगरले बाराना फिटका हिसावले काठ चिरेको सुनाए । ‘खेतीपाती केही छैन’ बराइलीले भने ‘विरिङ खोलाको बानमा ऐलानी जग्गामा सानो घर बनाएर बस्दै आएको छु, यसै पेशाबाट आफ्नो र परिवारको जिविकोपार्जन गर्दै आएको छु ।’
धेरैले काठ मिल उद्योगमै लगेर चिर्ने भएकाले अहिले सानोतिनो वा काठको पुरानो घर भत्काउँदा मात्र काम हुने गरेको बराइलीले बताए । काठ चिर्ने कार्य गर्दा दैनिक तीन सय रुपैयाँ भन्दा माथि मात्र कमाई हुने गरेको र सधैं काठ चिर्ने कार्य नहुने गरेको उनले दुखेसो पोखे । आफुले अन्य पेशा नजानेको र अन्य कार्य सिक्ने उमेर पनि नभएकाले काठ चिर्ने पेशालाई नै निरन्तरता दिन बाध्य भएको उनको भनाई छ । श्रीमती विरामी भइरहने भएकाले घरायाशी काम मात्र गर्ने गरेको बताउँदै छोरीको विवाह गरेको र छोरो रंगरोगन कार्य गर्ने गरेकाले सामान्य घरखर्च गरेर जीविकोपार्जन गर्ने गरेको उनले बताए ।
त्यस्तै उनका जोडीदार मगरको पनि अवस्था उस्तै छ । उनी पनि भानु माविको जग्गा विहीवारेमा सामान्य घर बनाएर बसेका छन् । केही समय अघिसम्म भ्याइनभ्याई हुने काठ चिर्ने पेशा गाउँ–गाउँमा काठ मिल खोल्ने क्रमले लोप हुँदै गरेको मगर बताउँछन् । उनकी श्रीमती माया पनि राजमिस्त्रीको लेभर कार्य गर्ने गरेको र कहिलेकाहीँ आफुले काठ चिरेको पैसाले जिविकोपार्जनमा धौधौ हुने गरेको गुनासो गर्छन् । छोराछोरी नभएका मगर दम्पतीको दुःखविराम पर्दा स्याहारसुसार गर्न समेत समस्या हुने पिडा पोख्छन् ।