बिर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. १ को प्रथम उपाध्यक्षमा झापाका ज्योतिसिंह दर्लामीले उम्मेद्वारी घोषणा गरेका छन् ।२०४८ सालमा पार्टी सदस्यता प्राप्त गरेका दर्लामीले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेको र प्रदेशको प्रथम उपाध्यक्षमा योग्य भएको भन्दै उम्मेद्वारको दावी गरेका हुन् । 

माओवादी केन्द्रको आगामी पुस ७ गते बस्ने समितिको बैठकबाट नेतृत्व छान्ने गरी कार्यदल गठन गरी सुझाव पेश गर्न भनिएसँगै दर्लामीले प्रथम उपाध्यक्षमा दावी गरेका हुन् । उनी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य समेत रहेका छन् । पहिल्लो केहिदिन यता पार्टीको प्रदेश कमिटीमा एकपछि अर्को नेताले पदाधिकारीमा आ–आफु दावेदार भएको बताउँदै आएका छन् ।

को हुन् ज्योतिसिंह दर्लामी ? 

२०२६ साउन ९ गते सिन्धुलीको साविक भिमेश्वर गाविस –०८ हाल गोलन्जर गाउँपालिकामा पिता अरुणसिंह दर्लामी र माता कुन्तिकुमारी दर्लामीका छ भाई तिन वहिनी सन्तान मध्ये तेश्रो सन्तानको रुपमा जन्मिएका दर्लामी २०४३ देखि २०४५ सम्म सिन्धुलीको बालाजोरको धाप स्कूलमा शिक्षण पेशामा आवद्ध रहेका थिए ।

उनले २०४६ सालको जनआन्दोलनको प्रारम्भिक चरणमा वहुदलको पक्षमा इश्वरी दाहाल ‘असारे’ को निर्देशनमा महोत्तरीको माई स्थानमा भित्ते लेखन, हाते पोष्टरिङ गरी आन्दोलनमा सहभागी भएका थिए ।

२०४९ सालमा पार्टीको एरिया समिति सदस्य हुँदै दर्लामीले २०५४ सालमा जिल्ला पार्टी महोत्तरीको अधिवेशनबाट जिल्ला सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

२०५४ सालमा अनेस्ववियु महोत्तरीको जिल्ला अध्यक्ष, २०५५ सालमा अनेरास्ववियुको जनकपुर सगरमाथा समन्वय समितिको संयोजक, २०५६ सालमा अनेरास्ववियुको केन्द्रिय कोषाध्यक्ष, २०५७–०५८ सालमा खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, ओखलढुङ्गामा संगठन विस्तार अभियानमा सहभागी भएका थिए । 

त्यसैगरी २०५७ सालमा नेकपा (एकताकेन्द्र) झापाको जिल्ला सेक्रटरी, २०५९ सालमा नेकपा (एकताकेन्द्र) तत्कालिन मेची अञ्चल व्युरो सदस्य, २०६६ सालमा तत्कालिन माओवादीसँगको एकतामा जिल्ला सह–सेक्रेटरी, (तत्कालीन राज्य इन्चार्ज शितलकुमार र सह–इन्चार्ज प्रल्हाद बुढाथोकीको समेत सह–इन्चार्जमा राख्ने सहमति विपरित), २०६८ सालमा नेकपा माओवादी जिल्ला सह इन्चार्ज तथा राज्य समिति सदस्य, २०७३ सालमा केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य, २०६६–०६८ सालमा(तत्कालीन स्वास्थ्य मन्त्रालयको नियुक्ति) मेची अञ्चल अस्पताल अध्यक्ष र हाल नेकपा (माओवादी केन्द्र) पार्टीको ०१ नं. प्रदेश समिति सदस्य रहेका छन् ।

दर्लामी अहिले नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राविधिक शिक्षालय विर्तामोड झापाको अध्यक्ष समेत रहेका छन् ।  हाल झापा बिर्तामोड –३ सुर्यनगरमा आमा, श्रीमती तारा नेउपाने, एक छोरा परिस्कृत र छोरी अनुष्काका साथमा स्थायी रुपमा रहँदै आएका छन् ।