बिर्तामोड ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत भएको झापा जिल्ला अधिवेशनमा सभापतिका उम्मेद्वार देउकुमार थेवे निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेद्वार रामबहादुर कट्टेललाई २५० मतले पछि पार्दै थेवे निर्वाचित वनेका हुन् । थेवेले १७६५ मत ल्याउदा अर्का सभापतिका उम्मेद्वार कट्टेल १५१५ प्राप्त गरेका छन् ।
झापामा कट्टेल र थेवेले आ–आफ्नो प्यानल खडा गरी उम्मेद्वारी दिएका थिए । मतगणनामा सुरुमा थेवेलाई पछि पार्दै आएका कट्टेलको मतगणना अन्त्य हुँदै जाँदा क्रमश घट्दै गएको छ ।
त्यस्तै उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई १६७४, केशवराज पाण्डे १८८९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनीहरुका प्रतिष्पर्धि प्रेम सम्बाहाम्फेले १४१५ र शमशेर गिरी (केदार) ले १२२१ मत प्राप्त गरेका छन् ।
सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धी विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ मत प्राप्त गरेका छन् ।
सहसचिवमा कमल भण्डारीले १७६० र कालेन्द्र राजवंशीले १७६५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धी पदम लिम्बुले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् । गत मंसिर १० गते भएको जिल्ला निर्वाचनमा क्षेत्रीय प्रतिनिधिसहित गाउँ नगर सभापति गरी ३३ सय ११ जनाले मतदान गरेका थिए ।
जिल्ला निर्वाचनबाट कूल ६३ जना आज निर्वाचित भएका हुन् । पदाधिकारीमा २० प्रतिशत बिधान अनुसारपछि मनोनयन गरिने बताइएको छ ।
कांग्रेस नेता कृष्ण सिटौलाको समुहबाट थेवे र विश्वप्रकाश शर्मा समुहबाट कट्टेल उम्मेद्वार बनाएका थिए ।