बिर्तामोड ।
लोपोन्मुख जाती तथा समुदायलाई माथि उठाउन सबै क्षेत्रको समर्थन र सहयोग चाहिने पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य गिरीराजमणि पोखरेलले बताएका छन् । जनजाती आदिबासीका भाषा साथै समुदायलाई सहयोग गर्दै उनीहरुलाई समावेशी र समानुपातिकमा संस्थागत गर्नु पर्नेमा पोखरेलले जोड दिएका छन् ।
उनले देशमा ५९ आदिबासीहरुलाई संधिानमा सुचिकृत गरेको बताउँदै सन्थाल जाती ५४ नम्बरमा सुचिकृत रहेको बताए । सन्थाल जाती प्राकृतिप्रेमी, इमान्दार र आफै मेहनत गर्ने भएको समेत उल्लेख गरे ।
बिर्तामोडमा आइतबार आयोजित सन्थाली वर्णमाला पुस्तक लोकार्पण समारोहमा प्रमुख अतिथिसमेत रहेका नेता पोखरेलले सो कुरा बताएका हुन् । झापाका शिवु मुर्मले कक्षा–१ को पुस्तकलाई ‘ओलचिकी’ लिपिमा लेखेका हुन् ।
आदर्श सामुदायिक क्याम्पसमा विविएस थर्ड वेयर अध्ययनरत शिवुले ४ बर्ष लगाएर पुस्तक तयार गरेको बताए । उनका अनुसार पुस्तकमा स्वरबर्ण ५, ब्यान्जन २४ र बिशेषङ्क ५ गरेर ३५ बर्ण रहेको छ । उनले अनलाइन कक्षाबाट सिकेर उक्त पुस्तक लेखेको बताए ।
२०६६ सालमा हल्दिबारी–२ स्थित राष्ट्रिय एकता प्राविमा ४७ जना बिद्यार्थीबाट कक्षा १ र २ सन्थाली भाषा अध्ययन गराइएको तर, कक्षा–३ देखि माथिको पुस्तक उपलब्ध नभएकाले सन्थाली भाषामा अध्यापन बन्द भएको बताए ।
नेपाल सन्थाल आदिबासी उत्थान संघ झापाको आयोजना तथा सन्थाल जाती उत्थान सेवा समाज झापा तथा रिलोमाला सन्थाली आख्या नेपाल मोरङको सह आयोजनामा लोकापर्ण समारोह भएको हो । तीनै संघ÷संगठनले पुस्तक प्रकाशनमा सहयोग गरेको बताइएको छ ।
नेपाल सन्थाल आदिबासी उत्थान संघ झापाका अध्यक्ष लखन हेमरमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संविधानसभा सदस्य मोहन टुडुले गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य, नेकपा माओबादी केन्द्र प्रदेश १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाई, प्रदेशसभा सदस्य तथा पार्टीका झापा सह–इन्चार्ज झलकसिंह दलार्मीलगायतले शुभकामना मन्तव्य राख्दै आफुहरुले सकेको सहयोग गर्ने प्रतिद्धता ब्यक्त गरे । कार्यक्रमको सञ्चालन नेपाल सन्थाल आदिबासी उत्थान संघ झापाका सचिव कुन्दन मुर्मुले गरेका थिए ।
झापा, मोरङ र सुनसरीमा बाहुलियता रहेको सन्थाल समुदाय २०६८ को जनगणना अनुसार ५१ हजार ७ सय ३५ जना रहेको जनाइएको छ । कार्यक्रममा नेकपा माओबादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङ, पार्टीका प्रदेश प्रदेश सदस्य ज्योतिसिंह दर्लामीलगायतको उपस्थिति रहेको थियो ।