झापा  । 

नेपाली कांग्रेसको प्रदेशसभा अधिवेशन आजदेखि सुरु भएको छ । शुक्रबार (आज) वाट प्रदेशसभा अधिवेशन सुरू भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।  सर्लाहीलगायत केही जिल्लामा विवाद देखापरे पनि नेतृत्वले ३ सय ३० वटै प्रदेशसभा अधिवेशन गर्ने योजना बनाएको उनले बताएका छन् । 

 सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेदवारी दिने उनले जानकारी गराए । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रदेशसभा अधिवेशनको सभापति उम्मेदवारका लागि ५ हजार शुल्क बुझाउनु पर्ने भएको छ ।

केही जिल्लाबाहेक मुलुकभरका ३ सय ३० वटा प्रदेश सभापति उम्मेदवारका लागि ५ हजार शुल्क तोकेको हो । त्यसैगरी उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५ सय र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पाइने छ ।

करिब २७ सदस्सीय कार्यसमिति रहने प्रदेशसभा स्तरका समितिका लागि कोषाध्यक्ष भने निर्वाचित सभापतिले मनोनित गर्नेछन् । १६ जना निर्वाचित कार्यसमिति सदस्य चयन हुने प्रदेशसभामा नवनिर्वाचित सभापतिले कुल संख्याको २० प्रतिशत अर्थात कम्तिमा चार सदस्यलाई मनोनीत गर्ने अधिकार दिइएको छ ।