विर्तामोड ।
नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनका लागि झापाका प्रमुख निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले पार्टीको आन्तरिक निर्वाचनको छनौट प्रक्रियामा तडक–भडकपूर्ण प्रचार शैली नअपनाउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस झापाको कार्यसमितिको बैठकमा निर्वाचन अधिकृत चिलवालले समाजवादी पार्टीको आन्तरिक चुनावलाई समाजवादी ढंगले नै सम्पन्न गर्नु पर्ने बताएका हुन् ।
सभापतिका दुवै उम्मेद्वार राम कट्टेल र देउकुमार थेवे आफ्नो दुई कार्यकालका उपसभापति भएको हुँदा जसले चुनाव जिते पनि आफ्नो दुवै हातमा लड्डु प्राप्त भए बराबर सम्झने सभापति उद्धव थापाले बताए ।
त्यसैगरी कांग्रेस झापाले आसन्न चौधौं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका तय गरेर निर्वाचन स्थल चयन गरेको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको नेतृत्वमा कार्यसमिति, क्षेत्रीय एवं प्रदेश क्षेत्रीय सभापति र गाउँ÷नगर सभापति र निर्वाचन समिति संयोजक साथैसदस्यहरु र सहभागीले संयुक्त बैठक गरी प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका तय गर्दै निर्वाचन स्थल चयन गरेको हो ।
यही मंसिर ३ गते हुने प्रदेशसभा निर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता लगायतका प्रक्रिया पुरा गरिने जनाइएको छ ।