सुरुङ्गा ।
झापाको कनकाईमा विभन्न पार्टी परित्याग गरी एकसय आठ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा समिति कनकाई ५ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान साथै शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा नेपाली कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका झापा सभापति उद्धव थापा, आसन्न महाधिवेशनमा जिल्ला सभापतिका दावेदार देउमान थेवे, जिल्ला सदस्य शेरवहादुर थापा, कनकाई नगर सभापति दुर्गा प्रसाईँ, महिला नेतृ कविता बस्नेत, धनमाया चिमरीया लगायतले खादा ओढाएर स्वागत तथा सम्मान गरेका छन् ।
जिल्ला सभापतिका दावेदार थेवेले नेपाली कांग्रेसमा विना सर्त प्रवेश गर्ने नवप्रवेशी सबैलाई स्वागत गर्दै नेपाली कांग्रेसमा नयाँ र पुरानो भन्ने विषयमा कुनै भेदभाव नहुने प्रष्ट पारेका छन् । विचारको राजनीति गर्दै अघि बढेको नेपाली कांग्रेसले कार्यकर्ताको भावनालाई सधैं सम्मान गर्ने बताएका छन् ।
कार्यक्रममा लामो समयदेखी नेपाली कांग्रेसमा आवद्ध भई पार्टीलाई अभिभावकत्व प्रदान गर्दै आएका जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरिएको नेपाली कांग्रेस कनकाई ५ का पूर्व सभापति रमेशचन्द्र दहालले जानकारी दिएका छन् । नेपाली कांग्रेस कनकाई ५ का वडासभापति यामनाथ फुयालको सभापतित्व तथा जिल्ला सभापति थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा भएको थियो ।
नेपाली कांग्रेस कनकाई ५ का उपसभापति मुक्ति अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन वडाका सहसचिव लक्ष्मी ढुङ्गानाले गरेका थिए ।