- उद्धव पुरी
अर्जुनधारा ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) अर्जुनधारा नगर कमिटीले वेमौसमी हावाहुरी र बर्षाका कारण किसानको धानखेती तथा अन्यबालीमा भएको क्षतिको अनुगमन तथा तथ्याङ्क संकलनमा विभेद भएको आरोप लगाएको छ ।
पार्टीका नगर कमिटी इन्चार्ज तथा नगर कार्यलयसहित माओबादी केन्द्रका वडा अध्यक्ष तथा सदस्यसहितको टोलीले नगरलाई ध्यानाकर्षण गराउँदै पुनःअनुगमन तथा तथ्याङ्क संकलन गर्न नगर समक्ष आग्रह गरेको हो ।
पार्टीले शुक्रबार नगरलाई ध्यानाकषर्ण गराउँदै विभेदपूर्ण भएको अनुगमन तथा तथ्याङ्क संकलनलाई व्यवस्थित गर्न समेत आग्रह गरेको छ । तथ्याङ्क संकलनमा ठेक्का दिने ब्यक्तिको नाम उल्लेख गरेको र जोतभोग गर्नेको नाम उल्लेख नगरेको समेत पार्टीले जनाएकोे छ । पार्टीले जोतभोग गर्ने किसानको पहिचान गरी उनीहरुलाई राहतको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।
नगरपालिका तथा वडाहरुले गरेको अनुगमन तथा तथ्याङ्क संकलनमा धेरै किसानको गुनासो आएको भन्दै नगरलाई पार्टीले ध्यानाकर्षण गराएको हो । किसानको धानबाली अनुगमन र तथ्यांक संकलनमा भएको अनियमिता तथा पक्षपात तरिकाले क्षतिको तथ्याङ्क संकलन गरेको पाइएकोले नगरलाई ध्यानाकर्षण पत्र बुझाइएको पार्टीले जनाएको छ ।