झापा ।
नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि मंगलवार गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो ।
एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६ गते देशभर वडा अधिवेशन सम्पन्न भएको थियो ।
प्राविधिक र भौगोलिक कारणबस केहि स्थानीय तहमा सम्भव नभए पनि आज अधिकांश गाउँपालिका र नगरपालिकामा अधिवेशन हुँदैछ । सिरहाको लहान नगरपालिकामा भने आइतबार नै नगर अधिवेशन पनि सम्पन्न भइसकेको छ ।
पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेकका पालिका कमिटीको आज अधिवेशनमा हुन लागेको हो ।
गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।