• उद्धव पुरी  

बिर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उप महासचिव, प्रवक्ता तथा प्रचार बिभाग प्रमुख जगनाथ खतिवडाले गिरीबन्धु टि–स्टेट राज्यको सम्पत्ती भएको बताउँदै ब्यक्ति नाममा हुन नदिने बताएका छन् । 

समाजबादी प्रेस संगठनले शनिवार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा प्रचार बिभाग प्रमुख खतिवडाले राज्यको सम्पत्ती कोही ब्यक्तिले नाममा गर्न खोजेको भए लगानी डुब्ने भएकाले समयमै विचार पुर्याउन समेत आग्रह गरेका छन् । पत्रकार भेटघाटमा पत्रकारको प्रश्नको जवाफ दिदै उनले त्यसको अनुसन्धान भइरहेको बताउँदै गिरीबन्धु टि–स्टेटमा त्यस्तो भएको पाइए त्यसको विरुद्धमा पार्टीले कदम चाल्ने बताए । 

पत्रकारहरुकै प्रश्नको जवाफ दिदै खतिवडाले केपी शर्मा ओली नेतृत्वको दुईतिहाईको शक्तिशाली सरकारले मदन भण्डारीको हत्यारालाई बाहिर ल्याउन नसकेको आरोप लगाए । उनले भण्डारीको लोकप्रियतालाई टेकेर  बनेको ओली नेतृत्वको सरकारले हत्यारा लुकाएको आरोप समेत लगाएका छन् । खतिवडाले तत्कालीन नेकपा   महासचिब मदन भण्डारी र जीबराज आश्रितको हत्याको बिषयमा पार्टीले अब छानबिन अगाडि बढाउने बताएका छन् । 

पत्रकार भेटघाटमा बोल्दै प्रचार बिभाग प्रमुख खतिवडाले कम्युनिष्ट पार्टी सधैं सिर्जानत्मक हुनु पर्नेमा जोड दिए । नेकपा एमालेले कम्युनिष्ट आचरण समाप्त पारेको आरोप लगाउँदै खचिवडाले भने ‘जनता देशको माया गर्ने र नेता सत्ताको दुरुपयोग गर्दै जाने भए ।’ उनले विग्रदै गरेको राजनीतिकलाई सुधार गर्दै लाने उदेश्यका साथ नेकपा(एकीकृत समाजबादी) पार्टी निर्माण गरेको बताएका छन् । 

s2 1

‘समाजबादमा जाने पार्टीको उदेश्य छ’ नेता खतिवडाले भने ‘हामी पनि एमाले बाटै आएका हौं, हाम्रा पनि कमिकमजोरी होलान्, तर, त्यसलाई क्रमश कम गर्दै भ्रष्ट्राचारी, घुसखोरी, माफियाबादलाई कम गर्दै समाप्त पार्ने पार्टीको लक्ष्य छ ।’ उनले असल कम्युनिष्ट बनाउने दायित्व आफ्नो पार्टीमा आएको समेत बताए । कार्यक्रममा कम्युनिष्ट आन्दोलनको मुख्य थलो झापा नै भएको उनको भनाई थियो । उनले पार्टी पुर्नरगठन अभियानबाट अघि वढिरहेको समेत बताएका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश तथा जिल्ला र गाउँ नगरका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । पार्टीका झापा सचिब निलमणि बरालले स्वागत गरेको कार्यक्रमलाई समाजबादी प्रेस संगठनका प्रदेश इन्चार्ज तिर्थ सिग्देलले सञ्चालन गरेका थिए ।