काठमाडौं ।

 नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । पार्टीको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलवार पत्रकार भेटघाटका क्रममा  पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको जनाइएको हो ।

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्मका लागि  म्याद थपिएको छ । पार्टीले  १ सय ४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।

यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५/२५ सदस्यीय गठन गरेको छ ।  भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १ सय ७५ सदस्यीय गठन गरिएको जनाइएको छ ।