बुट्टाबारी । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा सबैलाई न्याय हुने वातावरण बनाउन नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् । 

नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं.–६ द्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता शिवाकोटीले आफ्नासँग नभइ विपक्षीसँग प्रतिष्पर्धा गर्ने अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

कार्यक्रमका विशेष अतिथि कांग्रेस झापाका सभापति उद्धव थापाले आन्तरिक छनौट प्रक्रियामा विजयी वा उपविजयी हुँदैमा नाफा नोक्सान नहुने बताउँदै अर्को पार्टीसँगको निर्वाचनमा पार्टीका उम्मेद्वारले हार्दा चाहि संगठनलाई नोक्सान हुने बताए ।

१४ औं महाधिवेशनका लागि जिल्ला सभापतिका उम्मेद्वार देउमान थेवेले पार्टीको आन्तरिक छनौट प्रक्रिया भएकोले सहमति, सहकार्य र एकताबाट महाधिवेशनबाटै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

आशिष बनको सभापतित्वमा सम्पन्न कार्यक्रममा हर्कलाल गिरी, जलकुमार गुरुङ, कृष्ण हुमागाँईं, सिता पौडेल, छत्र गिरी, सूर्य कन्दङ्वा, पवित्रा ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । हेमकुमार कट्वालले स्वागत गरेको कार्यक्रमको सञ्चालन जीवन बास्कोटाले गरेका थिए ।