#विष्णु निरौला आचार्य#
नमस्कार सर , आरामै हुनुहुन्छ ? विद्यालय हिंड्न् तयार पर्दैगर्दा काशीनाथ सरलाई दलजीतले सोधे।नमस्कार दलजीत बाबु नमस्कार । आज कहाँ बाट बाटो बिराएर यता निस्किनुभो नि ? छेउमा भएको कुर्सीमा बस्ने इशारा गर्दै सोध्नुभो सरले। त्यस्तो होइन सर । जनप्रतिनिधि भएपछि कहिल्यै फुर्सद नहुँदो रहेछ। मनले सबैतिर पुगौँ भन्यो । सधैं एउटा न एउटा काम परिरहन्छ । यस्तै हुँदोरहेछ सर पदमा पुगेपछि । अनि तपाईंको के छ खबर ?
खोइ के हुनु र बाबु विद्यालय बन्द छ, बालबालिकाको भविष्य कोरोनाको महामारीले डामाडोल पारिहाल्यो। पोहोर सालपनि नानीबाबुहरुले पढ्न पाएनन्।यसपालि पनि विद्यालयमा बोलाएर प्रत्यक्ष पढाई गर्ने वातावरण अझै कहिले बन्ने हो ? खोइ तपाईं जनप्रतिनिधिहरुले पहल गरेर शिक्षक ,कर्मचारी र विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नुभए तत्कालै विद्यालयमा पढाई शुरु गरिन्थ्यो।सरकारबाट पनि हामी शिक्षक उपेक्षित छौं ।
शिक्षकले पोहोर पनि घर बसीबसी तलब खाए, यसपालि पनि स्कुल नगई तलब खाँदैछन् भन्ने आरोप पनि हामी शिक्षकले नै खेप्नुपरेको छ । अझ लाजमर्दो कुरा त यो कोरोना पनि पढाउन पर्दैन भनेर शिक्षकले नै ल्याइदिएको जस्तो पो गर्छन् त। त्यसैले दलजीत बाबु जसरी हुन्छ तुरुन्तै शिक्षक,कर्मचारी र विद्यार्थीलाई पहिलो लटमै खोपको व्यवस्थाको लागि स्थानीय सरकारले पहल गरिदिन पर्यो। त्यसपछि क्रमश सबैलाई खोपको व्यवस्था होस् । सर हजुरले गर्नुभएको सबैकुरा जायज छन् ।भोलि स्वास्थ्य चौकीमा जोन्सन एन्ड जोन्सन खोप आउँदैछ।
मैले चाहिँ जनप्रतिनिधिको हैसियतले दुबै डोज पुरा गरेँ । हजुरले भोलि नै स्वास्थ्य चौकी गएर खोप लिनुहोला । म त्यहाँ कुरा गर्दिराख्छु।अरुलाई पनि हामी चाँडै व्यवस्था मिलाउछौं।होस् बाबू मलाई मात्रै हो भने दुख नगर्नुहोस् । म एउटाले खोप लाएर अरुलाई चाहिँ रु सर हजुर सुगर,प्रेसरको रोगी । केहि गरि कोरोना सङ्क्रमण भै हाल्यो भने उठ्न गाह्रो हुन्छ । हाम्रो नीति नै पहिलो चरणको खोप शिक्षक कर्मचारी र विद्यार्थीलाई उपलब्ध गराउने हो। तपाईं ढुक्क भएर भोलि नै खोप लगाउन जानुहोस् । ल सर हजुर पनि स्कुल जाने होला ,मैले भुल्याएँ । अहिले म लाग्छु।हस् बाबु कुरा गर्दै रहौँला ।
भोलिपल्ट काशीनाथ सर खोप लगाउन स्वास्थ्य चौकी पुग्नुभो । भित्र बाट एकजना सिस्टरले त्यहाँ आउनाको कारण सोधिन् । सरले दलजीतको नाम लिँदै सबैकुरा बताउनुभो । ल बस्दै गर्नुस् सिस्टरले भनिन् । सर पाखुरा ठिक पारेर करिब एक घन्टा बस्नुभो। तिनै सिस्टर बाहिर आएर भनिन् । सरी यो जोन्सन खोप त धेरै राम्रो र प्रभावकारी छ रे त्यसैले यो खोप शिक्षकलाई दिन मिल्दैन रे। (लघु कथा )
सूर्योदय १२
करफोक इलाम