मेचीनगर ।
उमेरले ७२ वर्ष पुगे पनि उनको खेलप्रतिको उत्साह र जोसमा कुनै कमी देखिँदैन । विद्यालय व्यवस्थापन, शैक्षिक नेतृत्व र सांगठनिक जिम्मेवारीमा सक्रिय रहँदै आएका प्याब्सन मेचीनगरका अध्यक्ष तथा कन्भेन्ट स्कुलका प्रिन्सिपल विक्रम क्षेत्री शुक्रवार फुटबल मैदानमा उत्रिए । उनको उपस्थितिले खेलमैदानमा छुट्टै उत्साह थप्यो ।
मेचीनगरमा सुरु भएको प्याब्सन स्पोर्टस् मिटको उद्घाटन अवसरमा आयोजित निन्दा पूर्व र पश्चिम क्षेत्रका विद्यालयका संस्थापक प्रिन्सिपलहरूबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ७२ वर्षीय क्षेत्री आफैँ मैदानमा उत्रिएर खेले । उमेरको कुनै प्रवाह नगरी खेलप्रति देखाएको उनको सक्रियताले उपस्थित शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको ध्यान खिच्यो ।
प्रतियोगितामा पूर्व क्षेत्रको टोली विजयी बन्यो । तर, यस मैत्रीपूर्ण खेलको आकर्षण जित र हारमा मात्र सीमित रहेन । ७२ वर्षको उमेरमा पनि क्षेत्रीले मैदानमा देखाएको सक्रियता र खेलप्रतिको लगाव धेरैका लागि प्रेरणादायी बन्यो ।
खेलकुद उमेरसँग मात्र जोडिएको विषय होइन, इच्छाशक्ति, रुचि र सक्रियतासँग पनि सम्बन्धित हुन्छ भन्ने सन्देश क्षेत्रीको सहभागिताले दिएको देखिन्थ्यो । विद्यार्थीलाई खेलकुदमा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेतृत्व तहमा रहेका व्यक्तिहरू आफैँ मैदानमा उत्रिनुले पनि सकारात्मक सन्देश प्रवाह गरेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० मेचीनगरको आयोजनामा मंसिर ११ गतेदेखि सुरु भएको स्पोर्टस् मिटको उद्घाटन मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर–२ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको प्रांगणमा गरेकी हुन् ।
मेचीनगरका निजी विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा फुटबल, भलिबल र क्रिकेटलगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुँदैछ । विद्यार्थीभित्र लुकेको खेल प्रतिभा प्रस्फुटन गराउने, खेलकुदप्रति आकर्षण बढाउने र आपसी सद्भाव तथा भाइचारा विकास गर्ने उद्देश्यले प्याब्सन मेचीनगरले हरेक वर्ष स्पोर्टस् मिट आयोजना गर्दै आएको छ ।
७२ वर्षीय क्षेत्रीको फुटबल मैदानमा देखिएको उपस्थितिले भने यसपटकको स्पोर्टस् मिटलाई विद्यार्थीको प्रतिस्पर्धासँगै उमेरले उत्साह र सक्रियतालाई रोक्न सक्दैन भन्ने एउटा फरक सन्देशसमेत दिएको छ ।
प्रतिक्रिया 0