इलाम ।
पशुपतिनगर नाकाबाट सशस्त्र प्रहरीले साढे १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि मंसिर ९ गतेसम्म १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका अवैध सामान तथा चौपाया बरामद गरेको हो ।
उक्त अवधिमा इलामको सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता–चप्पल तथा मदिराजन्य पदार्थलगायतका सामान बरामद गरिएको गुल्मले जनाएको छ । बरामद गरिएका सामानमध्ये १७८ कार्टुन अर्थात् ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, ५७० किलो फर्सीको बियाँ, जुत्ता–चप्पललगायतका सामान तथा चौपाया रहेका छन् ।
सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका तथा खोलागोदाम क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालका बीओपी मानेभञ्ज्याङ र बीओपी छब्बिसेको संयुक्त टोलीले ती सामान बरामद गरेको हो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निरन्तर गस्ती, पेट्रोलिङ तथा निगरानी गर्दै आएको छ ।
सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले छोटो समयमै तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सञ्चारमाध्यमसँगको समन्वयमा समेत लामो समयदेखि उत्कृष्ट कार्य गर्दै आउनुभएका थापाले फिल्डमा पनि प्रभावकारी भूमिका निर्वाह गगर्दै आएका छन् ।
राष्ट्र र संगठनका लागि पुर्याएको योगदानको कदर गर्दै उहाँलाई २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) का अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै, उहाँलाई २०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसका अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोको समाधान र व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो । २१औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरेबापत र २४औँ सशस्त्र प्रहरी दिवस २०८१ मा ‘आईजी एपीएफ कमेन्डेसन’ (सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा) समेत प्रदान गरिएको थियो ।
आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्नुभएका थापा करिब सात वर्ष मूलधारको पत्रकारितामा सक्रिय रहनुभएको थियो । उहाँ २०६४ सालमा खुला प्रतिस्पर्धामार्फत सशस्त्र प्रहरी निरीक्षक पदमा सशस्त्र प्रहरी बल नेपालमा प्रवेश गरेका हुन् । थापा सञ्चारमाध्यमसँगको समन्वय र सहकार्यमा विशेष दख्खल राख्छन् ।
प्रतिक्रिया 0