झापा ।
प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गर्दै समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघ घोर आपत्ति प्रकट गरेको छ ।
महासंघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी रुपमा पक्राउ गरिएको जनाएको छ । यस्तै नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकडको प्रयास भएकोमा महासंघले निन्दा र खेद व्यक्त गरेको छ ।
मैनालीलाई लिन आएको प्रहरी शुक्रवार साँझ ५ बजेदेखि ७ बजेसम्म कार्यालयमा रहेपनि महासंघका महासचिव रामप्रसाद दाहालसहितको दबाबपछि पछि हटेको थियो । धरपकड गरिएका पत्रकारलाई पनि शुक्रबार साँझनै छोडिएको छ । दियो पोष्टका पत्रकार सुदिप विश्वकर्मालाई पनि पक्राउ गर्न निगरानी गरिएको जानकारी प्राप्त भएको छ ।
समाचारको विययमा कुनै समस्या भए विधिबमोजिम समाधान खोज्न छोडेर राज्य आतंक सिर्जना गर्नु शोभनीय विषय होइन । यो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुन, संविधान र कानुनविपरीत रहेको महासंघको ठहर छ ।
महासंघ प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा प्रहरीले अपनाएको स्वेच्छाचारी कदमप्रति खेद प्रकट गर्दै कडा भत्र्सना गरेको छ । र, आमपत्रकारलाई अविचलित रूपमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न र राज्य आतंकविरुद्ध खबरदारी गर्न आह्वान पनि महासंघले गरेको । महासंघले धरपकडका विरुद्ध सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएको महासंघ महासचिव रामप्रसाद दाहालद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया 0