बिर्तामोड ।
विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गर्ने कार्यमा संलग्नता नदेखिएपछि बिर्तामोड–५ का २५ वर्षीय कृष्ण अग्रवाल रिहा भएका छन् । उनलाई आइतवार साँझ प्रहरीले रिहा गरेको हो । ठगी गरेको भन्दै कनकाई नगरपालिका–३ सुरुङ्गाका निर्मल श्रेष्ठलगायत २५–३० जनाले हिजो अग्रवाललाई समातेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा प्रहरीले अनुसन्धान तथा छानबिन गरेको थियो ।
युरोपेली मुलुक क्रोएशिया पठाइदिने भन्दै धेरै बिद्यार्थीबाट तीन करोडभन्दा बढी रकम उठाइएको थियो । अदालतमा बिचाराधीन मुद्दाका साक्षी बसेका अग्रवाललाई श्रेष्ठले समातेर प्रहरी कार्यालय लिएर गएका थिए । झापा जिल्ला अदालतमा दर्ता भएको ‘झुट्टा प्रमाण एवम् परिस्थिति निर्माण’ सम्बन्धी मुद्दामा अग्रवाल साक्षीका रूपमा रहेका थिए । उक्त मुद्दा बुद्धशान्ति–२ का प्रज्ज्वल कार्कीले श्रेष्ठबिरुद्ध दायर गरेका थिए ।
बिर्तामोड घर भई दुबईमा बस्दै आएका प्रकाश संग्रौला र सुरुङ्गाका श्रेष्ठले युरोपेली मुलुक क्रोएशिया पठाइदिने भन्दै धेरै बिद्यार्थीबाट तीन करोड रुपैयाँभन्दा बढी रकम उठाएको आरोप छ ।
पीडितका अनुसार संग्रौलाले बिद्यार्थीहरूलाई आफ्ना साथीभाइका बैंक खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि नगद निकालेर श्रेष्ठमार्फत बुझ्ने व्यवस्था मिलाइएको थियो । दुबईमा रहेका संग्रौलासम्म रकम पुगेपछि उनी सम्पर्कविहीन भएको बताइएको छ । यसअघि पीडितहरूले श्रेष्ठबिरुद्ध ठगीको उजुरी प्रहरीमा दिएका थिए । सोही आधारमा उनीबिरुद्ध ठगी मुद्दा चलेको थियो । प्रहरी हिरासतमा रहेका श्रेष्ठपछि मिलापत्रका माध्यमबाट छुटेका थिए ।
उनले आफ्नो फेसबुक बालमा लेखेका छन्
‘सबैमा नमस्कार , जय श्रीराम
म कृष्ण अग्रवाल । बिर्तामोड–५ निवासी मैले आजसम्म कसैको एक रुपैंया पनि गलत नियत राखेर खाएको छैन् । जहिले पनि मानविय सेवा र सामाजिक काममा अग्रपङक्तिमा उभिएर काम गरिरहेको छु । यस्तो अवस्थामा म माथि इलाका प्रहरी कार्यालय अनारमनीबाट जसरी म माथि जे भयो यो अत्यन्त निन्दनीय छ । साथै अपराध हो होइन ( बुझ्न नखोजी, केही सञ्चारमाध्यमहरुले सामाचार प्रकाशन गरेर मेरो चरित्र हत्या गर्ने काम भएको छ । नाम चलेका र जिम्मेवार पत्रकारहरुबाट यस्तो हुनु अत्यन्त खेदजनक छ । तपाईले सामजमा कस्ता भ्रम सिर्जना गर्न सक्नु हुँदो रहेछ भन्ने आफैंले महशुस गरेको छु । यस सन्दर्भमा म कानुन ब्यवसायीहरुसंगको परामर्श पछि कानुनी उपचारमा जाने छु । यस्तो अवस्थामा मलाई साथ दिनुहुने मेरा आफ्न्त, इष्टमित्र, छरछिमेक, साथी–भाई, अग्रज ब्यक्तिहरु, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र, ब्यवसायीक क्षेत्र तथा प्रशासनिक क्षेत्रबाट सहयोग गर्नुहुने सबैमा हृदयदेखि नै आभार ब्यक्त गर्दछु । खाएको विष मात्र लाग्छ, नखाएको विष लाग्दैन् । सत्य एक्लै भएपनि सत्य, सत्य नै हुन्छ । सबैमा सकारात्मक भावना जागोस् शुभकामना ।’


















