बुट्टाबारी । 

श्रीमान हराएको २० बर्ष तथा उमेर १०० बर्ष पूरा भएपछि कुशको लाश बनाएर दाहसंस्कार गरी झापाको एक गिरी परिवारले काजक्रिया गरेको छ । 

भोजपुरको गोबिन चोकमा जन्मेर हाल झापाको बिर्तामोड–५ स्थित बुट्टाबारीमा बस्दै आएका दलबहादुर गिरी करिव २० बर्षसम्म सम्पर्क बिहीन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

गिरी परिवारले हराएको २० बर्षसम्म सम्पर्कमा नआएको र उमेरले १०० बर्ष पूरा भएपछि गत फागुन २१ गते कुशको लाश बनाएर कनकाई माई नदिमा दाहसस्कार गरी हाल काजक्रिया गरिरहेको छ । 

हाल ९८ बर्षीया दलबहादुर गिरीकी श्रीमती धनलक्ष्मी गिरीसहित छोराबुहारी छोरीले काजक्रिया गरिरहेका छन् । धनलक्ष्मी गिरी र दलबहादुर गिरीका जेठो छोरा सुवास गिरी पनि १५ बर्षदेखि हराइरहेका पारिवारिक स्रोतले बतायो । 

हाल माइला छोरा लक्ष्मण, साइला छोरा टंक र कान्छा छोरा दिलबहादुर गिरी, बुहारीहरु कालिमाया, धनमाया र गंगा गिरी साथै छोरीहरु मैया, मनमाया र कल्पना सहित श्रीमती धनलक्ष्मीले काजक्रिया गरिरहेका छन् ।

शुक्रवार नेपाल दशनामी समाज बिर्तामोड नगर सचिव प्रजित पुरीको नेतृत्वमा कोषाध्यक्ष बिदुर गिरी, सदस्य रणबहादुर गिरीसहितको टोलीले शोकाकूल गिरी परिवारको निवासमा पुगेर समबेदना दिएको छ ।